• १३ साउन २०८१, आइतबार

कोरोनाविरुद्धको खोप अभियान पुनः सुरु

blog

कृष्णनगर नाकामा कोरोनाविरुद्धको खोप लगाइँदै । तस्विरः नारद कोहार

नारद कोहार

तौलिहवा, माघ १३ गते । कपिलबस्तुमा कोरोनाविरुद्धको खोप लगाउने अभियान पुनः सुरु गरिएको छ । छिमेकी देश भारतमा कोरोना संक्रमित देखा पर्न थालेपछि जिल्लाको कृष्णनगर नाकाबाट खोप लगाउने अभियान थालिएको हो । 

१८ बर्ष माथिकालाई खोप लगाइने बताइएको छ । कोरनाबिरुद्धको फाईजर कम्पनीको खोप लगाउन सुरु गरिएको छ । माघ २५ देखि फागनु ३ गतेसम्म बिशेष खोप अभियान चलाइने बताइएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय खोप अधिकृत दिवाकर महर्जनका अनुसार पहिलो चरणमा रोजागरीका लागि भारत गएका नेपाली नाकाबाट फर्किंदा त्यस्ता ब्यक्तिलाई कृष्णनगर नाकामै खोप लगाउने प्रबन्ध मिलाइएको बताउनुभयो । कृष्णनगर नाकामा स्थापना भएको हेल्प डेस्कमै खोप लगाउनेगरी स्वास्थ्यकर्मी परिचालन गरिएको उहाँको भनाइ छ । 

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले अभियानको शुभारम्भ गर्दै कोरोनाविरुद्ध आफै सचेत हुनुपर्ने बताउनुभयो । बिगतमा कोरानाले कपिलवस्तसहित देशमा धेरै जनाको ज्यान गएकाले बेलैमा होसियारी अपनाउनु पर्ने उहाँले बताउनुभयो । मास्क लगाइ आफुलाई सुरक्षित राख्नु पर्ने र खोप समेत लगाउनु पर्ने उहाँको भनाइ छ । 

जिल्ला स्वास्थ्य कार्यालका प्रमुख नारायणप्रसाद चौधरीका अनुसार पहिलो चरणका लागि जिल्लामा ३० हजार डोज खोप आएको छ । पहिले खोप लगाएकाहरुले बुस्टर र नयाँलाई समेत खोप लगाउने ब्यवस्था गरिएको उहाँले बताउनुभयो । कोरोनाबिरुद्ध खोप लगाइ सुरक्षित हुन उहाँले आग्रह समेत गर्नुभयो । यो खोप पूर्णतया सुरक्षित रहेको र १८ बर्ष माथिका सबैले लगाउनुपर्ने बताउनुभयो ।  

पहिलो दिन १७ जनालाई खोप लगाइएको छ । पहिलो चरणमा भारतसँग सीमा जोडिएका कृष्णनगर नगरपालिका, महाराजगञ्ज नगरपालिका, यशोधरा, मायादेबी र शुद्धोधन गाउँपालिकामा खोप लगाउने कार्यक्रम छ ।