• १३ साउन २०८१, आइतबार

असहायका लागि भवन निर्माण हुँदै

blog

बर्दगोरिया –२ बौनियास्थित सहारा घरको भवन शिलान्यास गर्दै राष्ट्रिय योजना आयोगका बरिष्ट सदस्य डा. रामकुमार फुयाल लयायत गाउँपालिकाका जनप्रतिनिधि । तस्विर : चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), माघ १३ गते । कैलालीमा रहेका असहाय, मानसिक रोगीका लागि भवन निर्माण हुने भएको छ । सडकमा अलपत्र परेका, मानसिक रोगी, असहायहरुलाई साहरा दिंदैआएको साहरा घर नामक संस्थाले सो भवन निर्माण गर्न लागेको हो ।

राष्ट्रिय योजना आयोगबाट एक करोड ५० लाख रुपियाँको योजना परेपछि भवनको शिलान्यास गरिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका –२ बर्दगोरियाधाम नजिक रहेको असहायका लागि सहयोगी हातहरु नेपाल नामक संस्थाले सञ्चालनमा ल्याएको सहारा घरमा आश्रय लिएकालाई व्यवस्थित भवन निर्माण हुने भएको छ । 

आयोगका वरिष्ट सदस्य डा. रामकुमार फुयालले शनिबार भवनको शिलान्यास गर्नुभयो । सरकारले पहिलो पटक ठुलो योजना छुट्याएपछि सहारा घरलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सहज हुनेभएको जनाइएको छ ।

स्थानीय बलबहादुर विष्टले २०७० देखि सञ्चालनमा ल्याएको साहरा घरमा हाल एक सय बढी मानसिक रोगी तथा असहाय बालबालिकाले आश्रय लिएका छन् । देश विदेशबाट विभिन्न व्यक्ति, संघ संस्थाले दिएको सहयोगबाट साहरा घर सञ्चालन हुँदै आएकोमा सरकारले पहिलो पटक ठुलो योजना दिएपछि यतिखेर आफूले राम्रो काम गरेको अनुभुती भएको सञ्चालक विष्टले बताउनुभयो । 

सहारा घरको लागि बन्न थालेको व्यवस्थित भवनको डीपीआर सिन्धुलीका इन्जिनियर भुवन थापाले निःशुल्क रुपमा बनाउनुभएको थियो । मानसिक रोगीहरुको स्वास्थ्यलाई ख्याल गर्दै भवनको डिजाइन बनाइएको सहारा घरका सञ्चालक विष्टले बताउनुभयो ।

सहारा घरमा अहिले ५ जनाले स्वयमसेवक रुपमा सहयोग गर्दै आउनुभएको छ । सहारा घरका असहायहरुका लागि खाना बनाउने, सरसफाइ गर्ने, उनीहरुको हेरचाहमा सहयोग गरिरहेको साहारा घरका सञ्चालक बलवहादुर विष्टले वताउनुभयो ।