• १३ साउन २०८१, आइतबार

प्रभावकारी काम गरे पार्टी बलियो हुन्छ : महासचिव पोखरेल

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै एमाले महासचिव शंकर पोखरेल । तस्विर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, माघ १३ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थानीय तहका जनप्रतिनिधिले प्रभावकारी काम गरेमा पार्टी अझ बलियो हुने बताउनुभएको छ । 

एमाले जनमतको हिसाबले पहिलो र शक्तिशाली पार्टी भएको दाबी गर्दै उहाँले जनप्रतिनिधि र कार्यकर्ताले सिद्धान्तअनुरुप काम गरे कुनै गठबन्धनले पनि एमालेलाई पराजित गर्न नसक्ने दाबी गर्नुभयो । 

नेकपा (एमाले) कास्कीले शनिबार आयोजना गरेको कार्यक्रममा उहाँले अहिले संघ र प्रदेश सरकारमा पार्टीको उपस्थिति नहुँदा केही अप्ठेरो रहेको जनाउँदै स्थानीय तहबाट जनपक्षीय काम गर्न निर्देशन दिनुभयो । सङ्घ सरकारले तलका दुई सरकारलाई कमजोर बनाउन खोजेको उहाँको आरोप छ ।

“संघ सरकारले स्थानीय तहलाई दिने विभिन्न अनुदान तथा बजेट कटौती गरेको छ । प्रदेश र स्थानीय तहलाई कमजोर बनाउने कार्यको भण्डाफोर गर्नुपर्छ । जनतालाई यसबारे बुझाउनुपर्छ” उहाँले भन्नुभयो । पार्टी र जनप्रतिनिधिबिचमा केही मनोवैज्ञानिक समस्या रहेको औंल्याउँदै उहाँले संयन्त्र बनाएर सामूहिक रुपमा काम गर्न र ती समस्या संस्थागत गर्न नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

एमाले कस्कीले स्थानीय तहका जनप्रतिनिधिलाई शनिबार प्रशिक्षण दिएको छ । एमालेबाट निर्वाचित कास्कीका पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र कार्यपालिकाका सदस्यहरु कार्यक्रममा सहभागी थिए । 

एमाले स्थायी समिति सदस्य खगराज अधिकारीले पार्टी र जनप्रतिनिधिको अन्तरसम्बन्ध, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशील ज्ञवालीले स्थानीय तहको कार्यक्षेत्र योजना तथा बजेट तर्जुमाबारे प्रशिक्षण दिनुभयो । 

कार्यक्रममा एमाले स्थायी समितिका सदस्य थममाया थापा, पोलिटब्युरो सदस्य जगतबहादुर विक, कास्की अध्यक्ष मनबहादुर गुरुङ, जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेललगायतले स्थानीय तह र पार्टीको सम्बन्ध, अबको रणनीतिबारे बोल्नुभएको थियो ।