• १३ साउन २०८१, आइतबार

छ महिनामा २३ एनआरएनएलाई नागरिकता

blog

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका –९ का श्यामकृष्ण डङ्गोललाई गैर आवासीय नागरिकता प्रदान गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा । तस्विर : केदार तिमल्सिना

केदार तिमल्सिना 

बनेपा, माघ १३ गते । काभ्रेपलाञ्चोकमा पछिल्लो ६ महिनामा साढे चार हजार जनाले नेपाली नागरिकता र २३ जना एनआरएनएले नागरिकता प्राप्त गर्नुभएको छ । 

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको चालु आर्थिक वर्षको ६ महिनाको तथ्याङ्कले कार्यालयबाट चार हजार ६ सय आठ नयाँ नागरिकता जारी भएको देखिएको छ । 

कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अर्थात् साउनदेखि असोज महिनासम्म दुई हजार ४०८ वटा र दोस्रो त्रैमासिक कात्तिकदेखि पुस मसान्तसम्म दुई हजार दुईसय वटा नयाँ नागरिकता जारी भएको कार्यालयले जनाएको छ । 

यस्तै, चालु आवको साउनदेखि पुस मसान्तसम्मको अवधिमा जिल्लामा नयाँ नागरिकताभन्दा प्रतिलिपी नागरिकता बढी जारी भएको देखाएको छ । ६ महिनाको अवधिमा प्रशासन कार्यालयबाट चार हजार ८९९ वटा नागरिकताको प्रतिलिपी जारी भएको हो । चालु आवको पहिलो त्रैमासिकमा दुई हजार ६८६ वटा र दोस्रो त्रैमासिकमा दुई हजार २१३ वटा प्रतिलिपी नागरिकता जारी भएको छ । 

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कात्तिक २३ गतेदेखि जिल्लामा सुरु गरिएको गैर आवासीय (एनआरएन) नागरिकता २३ जनाले लिएको जानकारी दिनुभयो । उहाँले गैर आवासीय नागरिकता लिनेमध्ये सबैभन्दा बढी अमेरिका, अष्ट्रेलिया, क्यानडा, बेलायत, पोर्चुगल, आयरल्याण्ड, जर्मनी र नर्वेमा बसोबास गर्नेले लिएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी शर्माले चालु आवको हालसम्म कार्यालयबाट १२ जनाले आमाको नामबाट नागरिकता लिनु भएको छ । १८ जनाले नेपाली नागरिकता परित्याग गरेको र नौ जनाको नागरिकता रद्द गरिएको बताउनुभयो । छ महिनाको अवधिमा प्रशासन कार्यालयबाट नौ हजार ७३१ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन, हालसम्म दुई हजार पाँचसय ३६ थान राष्ट्रिय परिचयपत्र प्राप्त भएकोमा करिब सातसय थान राष्ट्रिय परिचयपत्र वितरण गरिएको कार्यालयको तथ्याङ्कले देखाएको छ । 

चालु आवको पहिलो त्रैमासिकमा पाँच हजार ८४१ जना र दोस्रो त्रैमासिकमा चार हजार ३९६ जनाले राहदानीका लागि निवेदन दर्ता गराएका थिए । छ महिनामा ५३ जनालाई राहदानी विभागमा सिफारिस गरिएको छ । 

यस्तै, चालु आवको हालसम्म प्रशासन कार्यालयका १२ वटा संस्था दर्ता, १७८ वटा संस्था नवीकरण, ३२४ वटा नाबालक परिचयपत्र, दलित, जनजाति परिचयपत्र जारी ९२ वटा र हातहतियार नवीकरण ११ वटा गरिएको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । 

हालसम्म कार्यालयले राहदानी शुल्कवापत पाँच करोड ४२ लाख ५८ हजार र अन्य प्रशासनिक सेवा शुल्कबापत ३५ लाख ५२ हजार रुपियाँ राजस्व सङ्कलन गरेको तथ्याङ्कले देखाएको छ । 

कार्यालयको तथ्याङ्क हेर्दा पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा नयाँ नागरिकता, र प्रतिलिपी नागरिकता, राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गराउने, राहदानीका लागि निवेदन दिनेकोे सङ्ख्या घट्दोक्रममा छ ।