• १३ साउन २०८१, आइतबार

टीकापुर बजारमा थुप्रियो फोहोर

blog

टीकापुर बजार क्षेत्रमा नउठेको फोहोर ।

एकिन्द्र तिमिल्सेना

टीकापुर, माघ १३ गते । टीकापुर बजारको फोहोर नउठेपछि थुप्रिन थालेको छ । नगरपालिकाले फोहोर उठाउन छोडेपछि फोहोर राख्ने भाँडाहरु भरिएका छन् । 

दुई हप्तादेखि फोहोर नउठेपछि भाँडाहरु भरिएका हुन् । वरपर दुर्गन्ध आउन थालेको छ । थुप्रिएको फोहोर तत्काल हटाउनुपर्ने अन्यथा सहन गाह्रो हुने व्यापारी शिवनारायण चौधरीको भनाइ छ । 

चौधरीले भन्नुभयो, “नगरपालिका जिम्मेवार बन्नुपर्छ, दैनिक दुर्गन्धले सताइरहेको छ । यस्तै हो भने फोहोर लिएर नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीयको कोठामा फाल्न नपरोस् ।”

टीकापुर नगर कार्यपालिकाले यसअघि ज्यालादारीमा रहेका सरसफाइकर्मीलाई कार्यपालिका बैठकबाटै भर्ना गर्न खोजेपछि बिरोध भएको थियो । तर कार्यपालिका सदस्यबाट र जनस्तरबाट विरोध भएपछि यसअघि ज्यालादारी काममा रहेका सरसफाइकर्मीलाई पनि काममा लगाउन छाडेको नगरपालिकाको सरसफाइ शाखाका प्रमुख लोकबहादुर बुढाले जानकारी दिनुभयो । 

यस बारेमा लेखा र प्रमुखबाट पनि अहिलेलाई रोक्ने आदेश आएकाले रोकिएको बुढाको भनाइ छ । फोहोरको व्यवस्थापनको जिम्मा नगरपालिकाको भएकाले थुप्रिएको फोहोर नगरपालिकाले जुनसुकै हिसावले पनि व्यवस्थापन गर्नुपर्ने शहर सफा हुनुपर्ने व्यापारी गंगाराम चपाईको भनाइ छ । 

नगरपालिकाले सोझै कर्मचारी भर्ना गर्न खोज्दा विरोध भएको देखिन्छ तर विगतझैं ज्यालादारीमा काम गर्दैआएका सरसफाइकर्मीको काम रोकेर बजारमा फोहोर थुपार्न नहुने उपभोक्ता अधिकारकर्मी शेरबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलेकै व्यवस्थाअनुसार वा वैकल्पिक व्यवस्था गरेर भए पनि बजारको फोहोर उठनुपर्छ । नागरिकको स्वास्थ्यसँग खेलवाड गर्नु हुँदैन ।” 

टीकापुर बजारमा फोहोर थुप्रिएपछि दुर्गन्ध फैलिएको छ । केही समय यता टीकापुर अस्पतालको छेउमा जमरा नदी किनारमा प्लाष्टिकजन्य फोहोर फालेर जलाउदै गरेकोमा स्थानीयले अस्पतालसँग गुनासो गरेपछि बन्द भएको थियो । जनशक्तिसहित फोहोर छुट्टयाएर ल्याए नगरपालिकाको फोहोर पनि सफा गरेर बेचिदिन्छौ भनेका छौं, अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले भन्नुभयो, “अस्पतालको फोहोर सफाइ गरेर बेचिरहेका छौं, अस्पतालको जग्गामा लुकिछिपी फोहोर फालेर जलाउने काम बन्द गरेका छौं । नगरपालिकाले दुई हप्तादेखि फोहोर उठाएको छैन ।”