• १३ साउन २०८१, आइतबार

देव खनाललाई तिलोत्तमा नगरपालिकाले ५० हजार दिने

blog

कप्तान देव खनाल ।

कपिल ज्ञवाली

सिद्धार्थनगर, माघ १३ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नेपाली क्रिकेट टोली (यु–१९) का कप्तान देव खनाललाई ५० हजार रुपियाँसहित सम्मान गर्ने भएको छ ।

शुक्रवार सम्पन्न आइसिसी यु–१९ विश्वकप २०२४ को समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै सुपर ६ मा प्रवेश गरेपछि कप्तान खनाललाई सम्मान गर्ने निर्णय भएको तिलोत्तमा नगरपालिकाले जनाएको छ । 

खनाल तिलोत्तमा नगरपालिकाका वडानं. ३ का बासिन्दा भएको र उहाको कप्तानीमा खेल सुपर ६ मा प्रवेश गरेकोले पुरस्कार स्वरुप ५० हजार रुपियाँदिने निर्णय भएको नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो । 

‘‘हामीले नगरका खेलाडीहरुलाई उर्जा दिनुपर्छ भनेर ५० हजार पुरस्कार दिने निर्णय गरेका हौँ ।  खेलकुद क्षेत्रको बिकासमा हामी सधै युवाहरुको साथमा रहन्छौं । यसअघि पनि हामीले सम्मान गरेका थियौँ’’ नगर प्रमुख रामकृष्ण खाणले भन्नुभयो । 

नेपालले समूह ‘डी’ को अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपाल समूह ‘डी’मा तेस्रो बन्दै सुपर–६ मा पुगेको हो । नेपालको जितमा उत्कृष्ट खेल प्रदर्शन गर्नुभएका कप्तान खनालले अर्धशतक प्रहार गर्नुभएको थियो । 

यसअघि गतबर्ष चैत्र १२ गते एक कार्यक्रमका बिच पनि तिलोत्तमा नगरपालिकाले आइसीसी विश्वकप लिग–२ मा उत्कृष्ट खेल प्रदर्शन गरेका ओपनर ब्याटम्यान कुशल भुर्तेल, राष्ट्रिय टोलीमा सहभागी मौसम ढकाल तथा यु–१९ क्रिकेटका क्याप्टेन देव खनाललाई जनही ५० हजार नगदसहित सम्मान गरेको थियो । भुर्तेल तिलोत्तमा–९, ढकाल तिलोत्तमा–१३ र खनाल तिलोत्तमा–३ निवासी हुनुहुन्छ ।