अनिल पराजुली
हेटौँडा, माघ १३ गते । ९८ जना श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुभएको छ । मकवानपुरको भीमफेदी गाउँपालिकाले शनिवार अनौपचारिक क्षेत्रका ९८ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको हो ।
अनौपचारिक क्षेत्रका श्रमिकका लागि तोकिएको मासिक १० हजार ८२० रुपियाँ (महंगी भत्ताबाहेक) मा पारिश्रमिकबाट ११ प्रतिशत अर्थात् एक हजार १९० रूपियाँ र भीमफेदी गाउँपालिकाले ९ दशमलव ३७ प्रतिशत अर्थात् एक हजार १४ रूपियाँ गरी दुई हजार २०४ रूपियाँ सामाजिक सुरक्षा कोषमा जम्मा हुनेछ ।
गाउँपालिकाले सामाजिक सुरक्षा योजना कार्यान्वयनका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा योगदानमा आधारित श्रमिक कोष बजेट शीर्षकमा १३ लाख बजेट विनियोजन गरेको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताउनुभयो । सामाजिक सुरक्षा योजनामा आबद्ध धेरै श्रमिक निर्माण क्षेत्रका छन्।
सामाजिक सुरक्षा सम्बन्धी संवैधानिक हकलाई सुनिश्चित गर्नका लागि योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ ले औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराउन सक्ने व्यवस्था गरेको छ ।
गाउँपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई डकर्मी, सिकर्मी, लोड अनलोड, गिट्टी बालुवा चाल्ने, ढुंगा फुटाएर जिबिका चलाउने, गाडी चालक, सहचालक, अप्रेटर, कृषि श्रमिक, ज्यामी लगायत अन्य श्रमिक, तथा स्वरोजगार व्यक्तिहरु योजनामा सहभागी गराइएको गाउँपालिकाले जनाएको छ । कोष आवद्ध हुन पालिकाले गत कार्तिक २३ गते सूचना प्रकाशित गरेको थियो । गाउँपालिका अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराउन सामाजिक सुरक्षा कोषसँग सम्झौता गर्ने नेपालकै दोस्रो गाउँपालिका र बागमती प्रदेशकै पहिलो गाउँपालिका हो । सामाजिक सुरक्षा कोषसँग सम्झौता गर्ने स्याङ्जाको फेदिगाँउ पहिलो गाउँपालिका हो ।