• १३ साउन २०८१, आइतबार

अध्यक्ष ओलीसँग सीपीसी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुनको शिष्टाचार भेट

blog

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएकी चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हायानको टोली शिष्टाचार भेट गर्दै । तस्विर : अध्यक्ष ओलीको सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौं, माघ १३ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएकी चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हायानको टोलीले आज शिष्टाचार भेट गरेको छ ।  

नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–चीनबीच पारस्परिक सहयोग, नेपालको आर्थिक विकासमा चिनियाँ सहयोग र दुई पार्टीबीचको आपसी सम्बन्धलगायत विषयमा कुराकानी भएको भेटमा सहभागी एमाले परराष्ट्र मामिला विभाग सदस्य गोपाल खनालले जानकारी दिनुभयो ।  


भेटमा सीपीसी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुनले नेपाल र चीनबीच पारस्परिक सहयोगका विभिन्न आयाममाथि चर्चा गर्दै नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोग रहने प्रतिवद्धता जनाउनुभएको थियो ।  

उहाँले चीनले गरेको आर्थिक विकासबाट नेपालले लाभ लेओस् भन्ने चाहना चीनको रहेको स्पष्ट पार्दै त्यसका लागि नेपालले प्राथमिकता निर्धारण गरेर विकास परियोजनाहरू अगाडि बढाउन सक्यो भने चीन सहयोग गर्न सदैव तयार रहेको जानकारी गराउनुभएको थियो । भेटमा उपमन्त्री सुनले चीनका राष्ट्रपति सी चिनफिङले अध्यक्ष ओलीलाई पठाउनुभएको शुभकामना र सम्झना सुनाउनुभयो ।  


सो अवसरमा अध्यक्ष ओलीले नेपालको विकासमा छिमेकी मित्रराष्ट्र चीनले गर्दै भएको सहयोगको प्रशंसा गर्दै नेपालको विकासमा चीनले निरन्तर सहयोग गरिरहने छ भन्ने विश्वास रहेको बताउनुभयो । अध्यक्ष ओलीले नेपालले सधै एक चीन नीतिलाई कार्यान्वयन गर्दैआएको र नेपालको भूभागमा चीनविरूद्धका गतिविधिमा रोक लगाएको बताउनुभयो । 

उहाँले चीनले गरेको अभूतपूर्व विकासको प्रशंसा गर्दै चिनियाँ विकास अनुभवबाट नेपालको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँहरूबिच दुई पार्टीबिचको सम्बन्धका विषयममा पनि कुराकानी भएको खनालले बताउनुभयो । 


भेटका क्रममा अध्यक्ष ओलीसहित एमालेका उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, सचिव अन्जान शाक्य र सदस्य गोपाल खनालको सहभागिता थियो । त्यस्तै, चिनियाँ उपमन्त्री सुनका साथमा नेपालका लागि चीनका राजदूत चेन सोङलगायत दूतावासका अधिकारीहरूको सहभागिता थियो ।