• ११ मंसिर २०८१, मङ्गलबार

चिसो बढेपछि विद्यार्थीले पाए न्यानो कपडा

blog

कमलामाई नगरपालिका–४ पोख्रेलगाँउस्थित कालिका प्रावि पोख्रेलगाँउका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिँदै । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा

सिन्धुलीमाढी, माघ १३ गते । सिन्धुली जिल्लामा चिसोका कारण विभिन्न विद्यालयमा पढनपाठन प्रभावित हुन थालेपछि अध्यनरत विपन्न वर्ग र असाय विद्यार्थीलाई जाडोमा लगाउने न्यानो कपडा र शैक्षिक सामग्री वितरण गर्न सुरु गरिएको छ ।

न्यानो कपडा (ट्रयाक सुट, स्विटर, जुत्ता र मोजा) कमलामाई नगरपालिका र तीनपाटन गाँउपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई धमाधम वितरण भइरहेको छ भने घ्याङलेख गाउँपालिकामा वितरण गर्ने तयारी भइरहेको छ ।

कमलामाई नगरपालिका–४ का वडा अध्यक्ष महेन्द्रप्रसाद ढकाल उक्त वडामा रहेका आधारभुत विद्यालय देउराली र कालिका प्रावि पोख्रेलगाउँमा अध्यनरत सबै विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको जानकारी दिनुहुन्छ । अब प्रावि केराबारी र प्रावि ढाँडेका सबै विद्यार्थीलाई वितरण गर्ने तयारी भईरहेको उहाँले बताउनुभयो ।

‘‘विद्यालयमा नै पुगेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरि रहेका छौं,’’ उहाँले भन्नुभयो, ‘‘शैक्षिक सुधार कार्यक्रमअन्तर्गत वडाबाट बजेट छुट्याई विद्यार्थीलाई जाडोको न्यानो कपडा र छ महिनालाई पुग्ने गरी शैक्षिक सामग्री वितरण गरिएको हो ।’’

दैनिक ज्याला मजदूरी गरी गुजरा चलाई रहेका अभिभावकका छोराछोरी पढ्ने विद्यालय छनोट गरी त्यहा पढ्ने बालबालिकालाई प्रोत्साहन गर्न न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको वडा अध्यक्ष ढकालले बताउनुभयो ।

त्यस्तै कमलामाई नगरपालिका–६ जसेदमारस्थित नबज्योती बहिरा माध्यमिक विद्यालयका २२४ जना विद्यार्थीले पनि भर्खरै जाडोमा लगाउने न्यानो कपडा पाएका छन् । उक्त विद्यालयमा ५२ जिल्लाका अपङ्गता र फरक क्षेमता भएका विद्यार्थी अध्यनरत छन् ।

विभिन्न गैरसरकारी संस्था तथा स्थानीय तहको समन्वयमा न्यानो कपडा वितरण कार्य भएको उक्त विद्यालयका अध्यक्ष तथा वडा अध्यक्ष उज्वलकुमार थापाले जानकारी दिनुभयो ।

तीनपाटन गाँउपालिकाका विभिन्न विद्यालयमा पनि जाडोको न्यानो कपडा वितरण कार्य भइरहेको छ । गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरले न्यानो कपडा वितरण कार्य पालिकाको आफ्नै कार्यक्रम नभए पनि विभिन्न दाताहरुले पालिकासँग समन्वय गरी वितरण गरि रहेको बताउनुहुन्छ ।

विपन्न तथा असहाय वर्गका बालबालिका जाडोमा कठ्याङ्गिँ्रदै आउने, जाडोका कारण पढ्न नसक्ने भएपछि न्यानो कपडा वितरण कार्य भइरहेको उहाँको भनाइ छ । जाडोको बेलामा न्यानो कपडा पाएपछि बालबालिका र अभिभावक पनि खुशी देखिएका छन् ।

त्यस्तै जिल्लाकै बिकट र दुर्गम क्षेत्रमा रहेको घ्याङलेख गाँउपालिका पनि महाभारत जङ्गल क्षेत्रमा पर्दछ । उक्त पालिकामा लामो समयसम्म चिसो भइरहने भएकाले विद्यालयमा पढ्न आउने बालबालिकालाई न्यानो कपडा वितरण गर्न सरसल्लाह भइरहेको गाँउपालिका अध्यक्ष जगतबहादुर भोलनले सुनाउनुभयो ।