• १३ साउन २०८१, आइतबार

मनाङमा फाट्टफुट्ट पर्यटक

blog

फाइल तस्बिर ।

यदुप्रसाद भट्ट

मनाङ, माघ १२ गते । जलवायु परिवर्तनको असर मनाङमा पनि देखिएको छ । तापक्रम घट्दै गएको मनाङमा समयमै हिउँ नपर्दा गाउँघर शून्य बनेको छ भने पर्यटक फाट्टफुट्ट मात्र देखिन थालेका छन्।

जल तथा मौसम पूर्वानुमान शाखामा उच्च स्थानको तापक्रम मापन गर्ने यन्त्र नहुँदा मनाङमा कतिसम्म तापक्रम घट्छ भनेर यसै भन्न नसकिने प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, "अहिले नयाँनयाँ एप्समार्फत तापक्रम मापन गर्दा माइनस २२ डिग्री पुग्यो भन्ने सुनेको छु, तर मैले आफ्नै मोबाइल डिभाइसमा माइनस १७ डिग्रीसम्म मापन गरेको छु ।" उहाँले हिमपात कम भएर चिसो अत्यधिक बढेको बताउनुभयो ।

उहाँका अनुसार मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका अधिकांश जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय जाडो छल्न सहर पसिसकेका छन् । भएका अलिअलि कार्यालयमा पनि बिदा दिइएको छ । धेरैजसो कार्यालय सदरमुकाम केन्द्रित गरिएको छ । उहाँले भन्नुभयो, "फाट्टफुट्ट कहिलेकाहीं नागरिकताको प्रतिलिपि लिन, राहदानी बनाउन तथा राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राही आउँछन् नत्र सुनसान छ मनाङ ।"

उहाँले एक हप्ताअघिसम्म दैनिक तिलिचो ताल जाने भनेर बाह्य पर्यटक आउने गरेका भएपनि दुई दिनदेखि त्यो सङ्ख्या घटेर एक दुई जना मात्रै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, "आजसम्म शून्य चाहिँ भएको छैन । मनाङ आउने पर्यटकको सङ्ख्या क्रमिक रुपमा घटेको चाहिँ हो ।" सवारी साधनको एकदमै कमै मात्र सञ्चालनमा छन् ।

"जाडोको समयमा सेवा प्रदायक कम भएका मौका पारी साथीहरु धेरै त बिदामा हुनुहुन्छ । पसलहरु बन्द छन्," उहाँले भन्नुभयो । अलिअलि परेको हिउँ पनि सबै पग्लिसकेको छ । यसपालि हिउँ नपर्दा जाडो धेरै बढेको स्थानीयले बताएका छन् । "सुरक्षाको दृष्टिले सुरक्षित रहेको मनाङमा सेना र प्रहरी मात्रै छन् । उनीहरुले नै मनाङ कुर्छन्, कोही साथी देखिनुभयो भने पनि खुसी लाग्छ," उहाँले भन्नुभयो ।

त्यसैगरी पर्यटकको सूचना राख्ने अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मनाङ प्रमुख ढकबहादुर भुजेलले पर्यटकको आगमन घटेको बताउनुभयो । उहाँले भन्नुभयो, "चिसैको कारणले होला, न्यून मात्र पर्यटक देखिन्छन् । दैनिक एक दुई जना मात्र भेटिन्छन् ।" उहाँले गत वर्षको तुलनामा यस वर्ष यो सिजनमा अत्यधिक चिसोले पर्यटकको संख्या घटेको बताउनुभयो ।

पहिलो हिमपात हुनासाथ यहाँका शैक्षिक संस्था बन्द भएका छन् । शैक्षिक संस्था बन्द भएपछि यहाँका अधिकांश स्थानीय जाडो छल्न जिल्ला बाहिर गएका छन् । यहाँका स्थानीय लमजुङ, काठमाडौं, पोखरा लगायतका स्थानतर्फ झर्ने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।