• १३ साउन २०८१, आइतबार

पशुलाई पीपीआरविरुद्धको खोप लगाउन सुरु

blog

उदयपुरगढी गाउँपालिका ४ को तोरीभञ्ज्याङस्थित चरण क्षेत्रमै गएर भेडालाई खोप लगाउँदै पालिकाका पशु चिकित्सक । तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल 

गाईघाट, माघ १२ गते । उदयपुरको उदयपुरगढी गाउँपालिकाले पशुमा देखिने सरुवा रोगविरुद्धको खोप अभियान सुरु गरेको छ । पालिकाका सवै वडा तथा घुमन्ते भेडीगोठका नौ सय भेडालाई समेत गरी करिब सात हजार पशुलाई पीपीआरविरुद्धको खोप लगाउन सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताउनुभयो । 

उहाँका अनुसार उदयपुरगढी गाउँपालिकाको पशुपन्छी विकास शाखाले पालिकाभरी नै खोप लगाउने अभियान सुरु गरेको छ । किसानहरुले पालेका गाई भैँसीलाई खोरेत रोग तथा बाख्राहरुको लागि पीपीआरविरुद्धको खोप लगाउन थालिएको हो । 

गाउँपालिकाको वडा नं १ देखि ८ सम्म सबै वडामा खोरेत तथा पीपीआर रोगविरुद्धको खोप अभियान सुरु गरिएको पालिकाका पशु प्राविधिक शेखर कार्कीले जानकारी दिनुभयो। पशु प्राविधिक कार्कीका अनुसार पालिकामा पहिलो चरणको लागि सात हजार पशुहरुलाई खोप लगाइनेछ । सुरुमा खोरेत रोग विरुध्दको खोप लगाइने र त्यसको लगतै बाख्रामा लाग्ने अति सक्रामक पिपिआर रोग विरुद्धको खोप लगाउने सञ्चालन गरिएको कार्कीले बताउनुभयो ।

यसैगरी ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाबाट चरणका लागि तल ल्याइएका विभिन्न भेगका भेडीगोठमा पिपिआर रोग फैलिन नदिन गोठमै पुगेर भेडालाई भ्याक्सिन दिइएको छ । जाडो याममा जिल्लाबाट भेडीगोठहरु उदयपुर आउने र गर्मी बढेपछि हिमाली जिल्लातर्फ लाने गरिएकोले यतिबेला उदयपुरका उच्च पाहाडी क्षेत्रका खर्कमा भेडिगोठहरुछन् । 

ती भेडिगोठमा करिव नौ सयको सङ्ख्यामा रहेका भेडाहरुमा खोप लगाइएको छ । पालिकाका पशु चिकित्सकहरुले औषधीसहित भेडिगोठमै पुगेर खोप अभियान सञ्चालन गरेको पालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताउनुभयो । उदयपुरको उदयपुरगढी, रौतामाई, लिम्चुङबुङ गाउँपालिकामा चिसो समयमा कात्तिक देखि फागुनसम्म भेडी गोठहरु आउने गर्छन् । 

उदयपुरगढी गाउँपालिका ३ सानोढुङ्र्गे र वडा नं. ४ को तोरिभञ्ज्याङलाई चरन क्षेत्र बनाएर गोठ राखिएको हुँदा त्यस क्षेत्रमा सरुवा रोग सार्न सक्ने सम्भावना बढी भएकोले बाहिरबाट यहाँ आएका आगन्तुक भेडीगोठमा खोप लगाइएको उहाँले बताउनुभयो । तर रौतामाई र लिम्चुङबुङ गाउँपालिकाले भने यस किसिमको खोप अभियान सञ्चालन गरेको छैन ।