• ६ जेठ २०८१, आइतबार

सहकारी रकम ठगी गरेको आरोपमा अध्यक्ष र उपाध्यक्ष पक्राउ

blog

शेरबहादुर राई

ओखलढुङ्गा, माघ १२ गते । बचतकर्ताको रकम ठगी आरोपमा ओखलढुङ्गाको ककनी गौरीवन सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ परेका छन् । बचतकर्ताहरूको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले सहकारीका अध्यक्ष विनोद सुनुवार र उपाध्यक्ष पदमबहादुर खत्रीलाई पक्राउ गरेको हो ।

पक्राउ परेको सहकारीका अध्यक्ष सुनुवार नेकपा माओवादी केन्द्र ओखलढुङ्गाका जिल्ला सचिव हुन् । जिल्लाको चम्पादेवी गाउँपालिका–९ बिलन्दु स्थायी घर भएका सहकारीका अध्यक्ष सुनुवारलाई काठमाडाैँ महानगरपालिका–६ बौद्धबाट र मोलुङ गाउँपालिका–४ हर्कपुर ओखलढुङ्गाका पदम बहादुर खत्रीलाई घरैबाट बुधवार पक्राउ गरिएको प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिनुभयो । जिल्ला अदालतबाट थुनामा राखेर अनुसन्धान गर्न ६ दिनको म्याद लिइएको सिंहको भनाइ छ । 

बचतकर्तामध्येका तिलक श्रेष्ठले गत मङ्सिर १५ गते सहकारीका सञ्चालकविरुद्ध जाहेरी दर्ता गर्नुभएको थियो । ककनी गौरीबन सहकारी संस्थामा राखेको र उक्त बचत रकम झिक्न खोज्दा विभिन्न बहानामा सहरकारीका सञ्चालकले रकम फिर्ता नगरको भन्दै कानुन अनुसारका कारबाहीको माग गरेर बचतकर्ताहरूले  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरी प्राप्त भएपछि प्रहरीले उजुरीकर्ता र सहकारी सञ्चालकलाई समस्या समाधानका लागि जिल्ला प्रहरी कार्यालयमा छलफल गराएको थियो । 

एक साता भित्र बचतकर्ताको रकम फिर्ता गर्ने सहमति गरेका सहकारीका अध्यक्ष विनोद सुनुवारसहित सहकारीका पदाधिकारी रकम फिर्ता गर्नुको सट्टा सम्पर्कविहीन भएपछि प्रहरीले कानुनी प्रक्रिया अघि बढाएको थियो । अनौपचारिक सहमतिका आधारमा तोकिएको समयमा पनि बचतकर्ताको रकम फिर्ता नभएपछि अदालतले सहकारी सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि ककनी गौरीवन सहकारी संस्थाका अध्यक्ष, उपाध्यक्ष तथा सञ्चालन समितिका पदाधिकारी फरार भएका थिए । सहकारी अन्य सञ्चालक समितिका पदाधिकारी पनि फरार छन् ।