बाबुराम कार्की
वराहक्षेत्र, माघ १२ गते । तराईको जिल्लाहरूमा बसोबास गर्दै आएका चाँय जातिहरू पिछडा वर्गमा सूचिकृत भएका छन् । संवैधानिक राष्ट्रिय समावेशी आयोगको बैठकले चाँय जातिलाई नेपाल पिछडा वर्गमा समावेश गरी सूचिकृत गरेको हो ।
तराईको सुनसरी, मोरङ, झापा, सर्लाही र रौतहट जिल्लामा बसोबास रहेको चाँय जातिहरू कुनै समुदायमा सूचिकृत नभएका चाँय जातिहरू पिछडा वर्गमा सूचीकृत भएको सुनसरी क्षेत्र नम्बर ४ का सङ्घीय सांसद ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । सांसद कार्कीले भन्नुभयो “हालसम्म कुनै पनि समुदायमा सूचिकृत नभएका चाँय समुदाय नेपाल पिछडा वर्गमा समावेश भएका छन् ।”
राष्ट्रिय समावेशी आयोगको हालै बसेको बैठकले चाँय जातिलाई नेपाल पिछडा वर्गमा समावेश गरी सूचिकृत गरेको हो ।
तराईका जिल्लामा बसोबास रहेको चाँय जातिभित्र चन्द्रवंशी र मण्डल थर रहेका छन् । हामीले वर्षौँदेखि राज्य वर्ण व्यवस्थामा जोडिने चाहना पूरा भएको वराहक्षेत्र नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष निरञ्जन चन्द्रवंशीले बताउनु भयो । उहाँले भन्नुभयो “सांसद तथा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सूचीकृत गराउन पहल गर्नु भएको थियो । उहाँले बोलेको कुरा पुरा गर्नु भएको छ ।”
हिन्दु धर्मामा काली मातालाई मान्ने चाँय जातिहरू २०६८ सालको जनगणना अनुसार १४ हजार जनसङ्ख्या रहेका चाँय जातिका अगुवा वडा अध्यक्ष निरञ्जन मण्डल चन्द्रवंशीले जानकारी दिनुभयो । मुख्य पेसा खेती किसान रहेको छ । चाँयको मुख्य चाड माघ महिनाको पहिलो आइतबार पर्ने बन्डा पर्व, दसैँ, तिहार मान्दै आएका छन् ।