निशा राई
धरान, माघ १२ गते । सवारी चापसँगै जथाभाबी रहेका सामुदायिक कुकुरले गर्दा दुर्घटनाको जोखिम बढिरहेकाले धरान उपमहानगरमा मानव कल्याण सेवा समाजले सामुदायिक कुकुरलाई नियोन बेल्ट लगाइदिएको छ ।
पछिल्लो समय दिनप्रतिदिन सवारी दुर्घटना बढ्दै गएको छ । सवारी दुर्घटनाको प्रमुख कारणमा चालकको लापरबाही, सवारी चापलगायत सडकमा छाडा छोडिएका पशु चौपायाहरू पनि हुने गरेको छ । पशुचौपायामा पनि सामुदायिक कुकुर दुर्घटनाको जोखिमका कारण बन्न पुगेकाले धरानको मानव कल्याण सेवा समाजले धरानका सामुदायिक कुकुरलाई नियोन बेल्ट लगाइदिएको छ ।
सडक दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरी एक्लैले सम्भव छैन त्यसैले यसमा सबैले साथ दिनुपर्ने भन्ने सोचले दुर्घटनाको जोखिम न्यूनीकरणमा मानव कल्याण समाज सेवा लागिपरेको मानव कल्याण सेवा समाज अध्यक्ष अरमान अलीले बताउनुभयो ।
कुकुरको घाँटीमा लगाइने उक्त नियोन बेल्ट टल्कने भएका कारण सवारी चालकलाई कुकुर भएको थाहा हुने उहाँले बताउनुभयो । यसले गर्दा दुर्घटनाको जोखिमसमेत न्यूनीकरण हुने र कुकुर पनि दुर्घटनाबाट बच्ने भएकाले यो कार्य सुरु गरिएको अध्यक्ष अलीले बताउनुभयो ।
सडकका छाडा कुकुरलाई पव्रmेर बेल्ट लगाउने काम जोखिमपूर्ण रहेको छ तथापि जोखिम मोलेरै भए पनि धरानका गल्लीगल्लीमा पुगेर प्रत्येक दिन सामुदायिक कुकुरलाई नियोन बेल्ट लगाइदिने गरेको अध्यक्ष अलीले बताउनुभयो । हालसम्म दुई सय कुकुरलाई नियोन बेल्ट लगाइसकेको उहाँले बताउनुभयो ।
विगतमा संस्थाकै पदाधिकारीबाट रकम जुटाएर आफैँ बेल्ट खरिद गरेर लगाइदिने भए पनि संस्थाले राम्रो काम गरेको देखेर कसैको जन्मदिन, वैवाहिक वर्षगाँठ, मृत्यु भएको मानिसको सम्झनालगायत देश विदेशबाट यस कार्यमा सहयोग आउँदै गरेको संस्थाका अध्यक्ष अलीले बताउनुभयो ।
यस संस्थाले लकडाउनको समयमा सडक मानवहरूलाई खाना खुवाउन सुरु गरेसँगै विभिन्न समस्यामा रहेका तथा बिरामी परेकालाई सकेको सहयोग गर्दै २०७८ सालमा संस्था दर्ता गरी हाल १५ जना सदस्य रहेको अध्यक्ष अलीले बताउनुभयो ।