• १३ साउन २०८१, आइतबार

काठेपुल तरेको शुल्क पचास रुपियाँ

blog

धनगढी समाचारदाता

धनगढी, माघ १२ गते । कैलालीको कैलारी गाउँपालिकामा स्थानीयवासी काठेपुलबाट ओहोरदोहोर गरेबापत ५० रुपियाँ तिर्न बाध्य छन् । स्थानीय मोहना नदीमा काठेपुल तरेबापत यतिको शुल्क तिर्ने गरेका हुन् । 

पुल तर्दा मोटरसाइकलसहित व्यक्तिको ५० रुपियाँ, व्यक्तिको २० रुपियाँ र साइकलसहित व्यक्तिको २५ रुपियाँ शुल्क लिइने गरिएको छ । स्थानीय स्तरमा पुलपुलेसा, बाटाघाटा निर्माण गरेर जनतालाई सेवा, सुविधा दिने मुख्य जिम्मेवारी पाएको पालिकाले ठेक्का दिएर उल्टै आर्थिक लाभ लिने गरेको छ । 

सो पालिकाले वडा नम्बर ३ को खोनपुर घाट, वडा नम्बर ४ को भितरिया घाट र वडा नम्बर ५ को गोबरैला घाट ठेक्का दिँदै आएको छ । स्थानीय सरकार सञ्चालन ऐनमा काठेपुल निर्माण वा डुङ्गा सञ्चालनका लागि घाट ठेक्का दिन पाउने स्पष्ट व्यवस्था छैन । 

स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ९ को ५४ मा पालिकाले कानुनबमोजिमबाहेक कर लगाउन, उठाउन वा ऋण लिन नपाउने उल्लेख छ । सो ऐनले स्थानीय तहले एकीकृत सम्पत्ति, घरजग्गा कर, भूमि कर (मालपोत), घरजग्गा बहाल कर, व्यवसाय कर, बहाल बिटौरी शुल्क, पार्किङ शुल्क, जडीबुटी कबाडी र जीवजन्तु कर र सेवा शुल्क उठाउन पाउने व्यवस्था गरेको छ । 

नदीमा काठेपुल वा डुङ्गा सञ्चालनका लागि स्थानीय सरकार सञ्चालन ऐनमा स्पष्ट व्यवस्था नरहे पनि घाट ठेक्काको अभ्यास अन्यत्र पनि भइरहेकाले कैलारी गाउँपालिकाले पनि ठेक्का दिएको सूचना अधिकारी यगम कलेलले बताउनुभयो । 

स्थानीय राजस्व परामर्श समितिको सिफारिसका आधारमा पालिकाले आफ्नो आन्तरिक आम्दानीका लागि घाट ठेक्का दिएको छ तर पालिकाले शुल्क निर्धारण नगर्दा ठेक्का पाएकाले आफूखुसी शुल्क उठाउँदै आएका छन् । 

घाटमा लिइरहेको शुल्क अलिकति बढी नै भएको उल्लेख गर्नुहुँदै कलेलले अबदेखि पालिकाले नै शुल्क निर्धारण गर्ने बताउनुभयो । सीमावर्ती भारतीय बजार चन्दन चौकीसँग जोडिएको खोनपुर घाटको दुई लाख ६५ हजारमा ठेक्का भएको छ । 

खोनपुर गाउँका तेजराम चौधरीले सो घाटको ठेक्का पाए पनि सीमित व्यक्तिले फाइदा लिन नपाउने भन्दै खोनपुरवासीले हस्तक्षेप गरेर गाउँमार्फत काठेपुल सञ्चालन गर्दै आएका छन् । 

घाटबाट उठेको पैसाले नदी कटान नियन्त्रणका लागि तारजाली गर्ने स्थानीय सुजित चौधरीले बताउनुभयो । “नदीले कटान गर्दा गाउँवासीले ठुलो क्षति बेहोर्दै आउनु परेको छ । 

खोनपुर घाटमा खोनपुर गाउँ, लालपुर, निमुवाबोझी र शिवरत्नपुरका स्थानीयलाई निःशुल्क रहेको छ । त्यस्तै भितरिया गाउँमा भितरिया र मोहनपुर गाउँवासीलाई निःशुल्क गरिएको छ । बाँकी अरू गाउँका व्यक्तिले ओहोरदोहोर गर्दा शुल्क तिर्नु परेको छ ।