• २० पुस २०८१, शनिबार

सहकारीका सञ्चालक दास पक्राउ

blog

अध्यक्ष र प्रवन्धक फरार भएपछि कार्यालयमा भेला भएका कर्मचारी र बचतकर्ता । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, माघ ११ गते । सर्लाहीको लालबन्दीमा रहेको प्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र प्रबन्धक बचतकर्ताको बचत रकम लिएर फरार भएपछि प्रहरीले एक जना संस्थापक सदस्यलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । 

लालबन्दी नगरपालिका–७, मा रहेको संस्थाका अध्यक्ष झगरुप्रसाद दास र प्रबन्धक रवीना रायमाझी गत पुस १६ गतेदेखि संस्था बन्द गरेर फरार छन् । आफूहरूको बचत रकमसहित दास र रायमाझी फरार भएपछि बचतकर्ताले इलाका प्रहरी कार्यालय लालबन्दीमा उजुरी दिएका छन् । 

सोही उजुरीका आधारमा अनुसन्धान गर्दैजाँदा प्रहरीले स्थापनाकालमा संस्थाको सञ्चालक समितिको सदस्य रहेका कौडेना गाउँपालिका –३ घर भई हाल लालबन्दी नगरपालिका –५ मा बस्ने ३७ वर्षीया सुनितादेवी दासलाई नियन्त्रणमा लिएको हो । सुनिता फरार रहेका संस्थाका अध्यक्ष झगरुकी श्रीमती हुन् । 

उनीविरुद्ध सहकारी ऐन अन्तर्गत ठगी र आपराधिक विश्वासघात मुद्दामा सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरिबोल केसीले जानकारी दिनुभयो । उहाँका अनुसार उजुरी परेकामध्ये संस्थाका अध्यक्ष दास, प्रबन्धक रायमाझी र रायमाझीका श्रीमान् बुद्धिमान उप्रेती फरार छन् । 

प्रहरी निरीक्षक केसीले संस्थाका सञ्चालक समितिका पदाधिकारी को–को हुन भन्ने नै खुल्न नसकेको बताउनुभयो । “संस्थाका जिम्मेवार सञ्चालक को–को हुन भन्ने कर्मचारी तथा अन्य कसैलाई पनि थाहा छैन” प्रहरी निरीक्षक केसीले भन्नुभयो, “सुनितादेवी संस्थापक सञ्चालक रहेको खुलेकाले उनलाई अनुसन्धानका लागी नियन्त्रणमा लिएका हौँ, थप बुझ्ने काम हुँदैछ ।” 

यस संस्थाले हरिपुर र हरिवनमा समेत कर्मचारी राखेर बचत सङ्कलन गर्नेगरेको थियो । संस्थामा बचतकर्ताको कति रकम थियो भन्ने खुल्न सकेको छैन । संस्थाको सञ्चालक समितिका पदाधिकारी, हरहिसाब, वार्षिक साधारण सभा गरे–नगरेको केही खुल्न नसकेको प्रहरीले जनाएको छ । कर्मचारीका अनुसार संस्थामा बचतकर्ताको करिब चार करोड रुपियाँ रकम बचत छ । 

संस्थाकी कर्मचारी एवं फिल्डमा खटिएर पैसा उठाउने काम गर्नुहुने एलिसाकुमारी लायो मगरले अध्यक्ष दास र प्रबन्धक रायमाझी पुस १६ गतेदेखि मोबाइल ‘स्विच अफ’ गरेर बेपत्ता भएको बताउनुभएको छ । उहाँले अध्यक्ष दास र प्रबन्धक रायमाझीबाहेक अन्य कोही सञ्चालक भनी कार्यालयमा नआएको बताउनुभयो । 

लालबन्दी नगरपालिकाले यस सहकारीको नगरपालिकामा कुनै ‘रेकर्ड’ नरहेको जनाएको छ । नगरपालिकाको सहकारी शाखाका प्रमुख गोपाल थापाले यो सहकारीको नवीकरण गर्न र अन्य कागजात बुझाउन कहिल्यै कोही नआएको बताउनुभयो । 

“नगरपालिकामा अहिले ३८ वटा सहकारी संस्था नियमित नवीकरण भएका छन् तर प्रिय बचत सहकारीको हकमा अहिलेसम्म कुनै कागजात लिएर कोही आएको छैन” थापाले भन्नुभयो । साबिकको डिभिजन सहकारी कार्यालय मलङ्गवाले स्थानीय तहहरूलाई सहकारी संस्थाको विवरण हस्तान्तरण गर्दा लालबन्दी नगरपालिकाभित्रका ८४ वटा सहकारीको फाइल हस्तान्तरण गरेको थियो । 

सहकारी शाखाका प्रमुख थापाका अनुसार प्रियका अध्यक्ष र प्रबन्धक फरार भएपछि एक सयभन्दा बढी बचतकर्ताले नगरपालिकामा पनि उजुरी दिएका छन् । अध्यक्ष र प्रबन्धक संस्था नै बन्द गरेर फरार भएपछि खाइनखाइ गरी संस्थामा बचत राखेका बचतकर्ता निराश बनेका छन् । 

कर्मचारीका अनुसार संस्थाले केही समय अघिदेखि नै ऋण लगानी गर्न भने छाडेको थियो । जानकारका अनुसार अध्यक्ष दास र प्रबन्धक रायमाझीले झोलामा कागजात बोकेर लापरबाही ढङ्गले संस्था चलाउँदैआएका थिए । झगरुले लालबन्दी –७ स्थित बजारमा फर्निचर व्यवसाय समेत सञ्चालन गर्थे ।