• १२ साउन २०८१, शनिबार

नबिल बैङ्कले ल्यायो दक्ष प्रवासी उद्यमशील कर्जा योजना

blog

नबिल बैंकले दक्ष प्रवासी उद्यमशील कर्जाको औपचारिक शुभारम्भ कार्यक्रम । तस्बिर : गोरखापत्र

काठमाडौं, माघ ११ गते । नबिल बैङ्कले दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको छ । बिहीबार बैङ्कले काठमाडौँका शुभारम्भ गर्दै वैदेशिक रोजगारीमा गएर सीप सिकेर नेपाल आएका युवाहरूलाई प्रोत्साहन गर्नका लागि दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको हो ।

बैङ्कले स्वदेशमा उद्यम गर्न चाहने प्रवासी नेपाली र उनीहरूको परिवार लक्षित १० करोड रुपियाँसम्मको कर्जा सुविधा ल्याएको छ । बैङ्कले न्यूनतम १५ लाख रुपियाँदेखि १० करोड रुपियाँसम्मका सुविधा र विभिन्न चरणमा विभाजन गरी कर्जाको सीमा समेत तोकेको छ ।

यसैगरी, बैङ्कले कृषि, हस्तकला तथा साना उद्यमी गर्ने प्रवासी नेपालीलाई १५ लाख रुपियाँको कर्जा समेत प्रदान गर्नेछ ।  नबिल बैङ्कले लगानी थप गरी उद्योग विस्तार गर्न चाहनेलाई १५ लाख रुपियाँदेखि एक करोड रुपियाँसम्म कर्जा दिने योजना ल्याएको हो ।

बैङ्कका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहज बनाउन बैङ्कले दक्ष प्रवासी उद्यमशील कर्जा योजना अभियान चलाएको बताउनु भयो । उहाँले विदेशबाट नेपालीहरूले धेरै प्रकारका सीप,पुँजी लिएर आएकाले उनीहरूलाई रोजगारी र उद्यमशीलतामा ल्याउन सके देशको आर्थिक अवस्था माथि उठ्नसक्ने बताउनुभयो ।


उहाँले प्रवासी नेपालीहरूले विदेशमा सिकेर आएको सीप प्रयोग गरेर दिगो रूपमा रोजगारी तथा उद्यम गर्नसक्ने वातावरण नबिल बैङ्कले योजना ल्याएको जानकारी दिनुभयो । उहाँले दक्ष प्रवासी उद्यमशील कर्जा योजनाबाट बैङ्कले धेरै नाफा कमाउने उद्देश्य नल्याएको बताउनुभयो । उहाँले विदेशमा सिकेर आएको सीप प्रयोग गरेर स्वदेशमा नै उद्यम गर्ने र रोजगारी सिर्जना हुने अपेक्षाले यो योजना अघि सारेको बताउनुभयो ।

बैङ्कका कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले वैदेशिक रोजगारीमा गएर नेपाल आएका नेपालीहरूलाई १५ देखि १० करोडसम्मको सहुलियतपूर्ण कर्जा दिने योजना ल्याएको बताउनुभयो । उहाँले विदेशमा गएका नेपाली श्रमिकहरूले नबिल बैङ्कको कर्जा योजनाले औपचारिक क्षेत्रबाट रेमिट्यान्स भित्र्याउन प्रोत्साहन गर्ने दाबी गर्नुभयो । उहाँले औपचारिक रूपमा रेमिट्यान्स आउँदा  आर्थिक रूपमा देशको अर्थतन्त्रमा टेवा पुग्नेगरी योजना ल्याएको बताउनुभयो ।

अधिकृत ढुङ्गानाले नबिल बैङ्कको कर्जा योजनाले कर्जा मात्रै नभएर रोजगारी सिर्जना हुने र उत्पादकत्व बढ्न गई अर्थतन्त्रमा टेवा पुग्ने बताउनुभयो । उहाँले दक्ष प्रवासी उद्यमशील कर्जाले कर्जा मात्रै नभएर सीपको उपयुक्त प्रयोगमा जोड दिने जानकारी दिनुभयो । बैङ्कले ल्याएको योजनाले सञ्चालनमा रहेका उद्योगलाई थप लगानी गरी व्यवसाय अगाडि बढाउनेलाई एक करोडदेखि पाँच करोड रुपियाँसम्म सुविधा बैङ्कले दिने भएको छ ।

उक्त कर्जा व्यापार बढाउने र नयाँ प्रविधि प्रयोग गरेर बजारमा जाने योजना रहेका नेपालीलाई प्रदान गर्नेछ । सञ्चालन गर्दै आएका व्यवसायलाई बजारमा ठुलो क्षमतामा अगाडि बढाउने योजना बनाएका युवाहरूलाई बैङ्कले १० करोड रुपियाँसम्म कर्जा दिनेछ । कर्जाका लागि नागरिकतासहित कोल्याट्रलको आवश्यक पर्नेछ । बैङ्कले कर्जामा १.५ प्रतिशत ब्याजदर कायम गरेको छ । कर्जा प्राप्तका लागि धितोको रूपमा व्यक्तिगत ग्यारेन्टी र जग्गा तथा आफूसँग भएको सम्पत्ति राख्न सकिने बैङ्कले जनाएको छ ।