• १२ साउन २०८१, शनिबार

छ वर्षदेखि पुल अलपत्र

blog

गुर्भाकोट नगरपालिका–४ र ५ को सिमाना गोचे खोलामा अलपत्र पक्की पुल । तस्बिर : रजनी योगी

बुलबुले समाचारदाता

सुर्खेत, माघ ११ गते । गुर्भाकोट नगरपालिकाको गोचे खोलामा निर्माण गरिन लागेको पक्की पुल छ वर्षदेखि अलपत्र छ । विभिन्न कारण देखाउँदै ठेकेदारले पटक पटक म्याद थप गरेर निर्माण अधुरै राखेको छ । दुई वटा वडाका नागरिकलाई आउजाउ सहज बनाउन गोचे खोलामा ३५ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल बनाउन थालिएको थियो । नगरपालिकाको वडा नं. ४ र ५ को सिमाना गोचेखोलामा २०७४ साल भदौ २३ देखि निर्माण सुरु गरिएको थियो । २०७६ साल वैशाख ३१ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी एडभेन्च जेभी बाँकेसँग चार करोड ३० लाख ९७ हजार रुपियाँमा ठेक्का सम्झौता गरिएको हो । 

पुल निर्माणका लागि तीन पटक म्याद थप भएको छ । अन्तिम पटक २०८१ साल वैशाखसम्मका लागि म्याद थप गरिएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । ठेकेदारको लापरबाहीका कारण काममा ढिलाइ भइरहेको कार्यालयका सूचना अधिकारी टोपनारायण पौडेलले बताउनुभयो । उहाँका अनुसार गत असारदेखि पुल निर्माणको काम ठप्प छ । पटक पटक काममा फर्कन निर्माण कम्पनीलाई ताकिता गर्दासमेत ठेकेदारले अटेरी गरेको उहाँको भनाइ छ । अन्तिम पटक म्याद थपिएको अवधिमा निर्माण सम्पन्न नगरे ठेक्का रद्द गर्ने चेतावनीसमेत कार्यालयले दिएको छ । पुल निर्माणको आधा काम सकिएको भन्दै पौडेलले सुपर स्ट्रक्चरको मात्र काम बाँकी रहेको बताउनुभयो । 

हालसम्म पुल निर्माणको ५२ प्रतिशत मात्र काम सम्पन्न भएको जनाइएको छ । ४८ प्रतिशत काम बाँकी छ । अहिले पुल निर्माणको काम ठप्प रहेको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । छ वर्षसम्म पुलको पिल्लर र दुई वटा स्ल्याब मात्र हाल्ने काम भएको छ । सुपर स्ट्रक्चरको काम बाँकी नै रहेको कार्यालयका सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । विभिन्न प्राविधिक समस्या देखाउँदै प्रत्येक वर्ष पुल निर्माणको सम्झौता बढाइए पनि काम भने सोचे अनुसार हुन नसकेको उहाँले जानकारी दिनुभयो । पुल नबनेपछि गुर्भाकोट नगरपालिका–४ र ५ का स्थानीयलाई सास्ती भएको छ । उक्त स्थानमा खोलाको बगरबाट सवारी आवागमन गर्नुपर्ने बाध्यता छ । वर्षामा खोला तर्न कष्टकर हुने गरेको स्थानीयले गुनासो गरेका छन् । वडा नं. ५ का तुलसी पौडेलले जिम्मेवार निकाय र ठेकेदारको लापरबाहीले आफूहरूलाई सास्ती भइरहेको बताउनुभयो । पुल निर्माण नहुँदा आवतजावतमा समस्या भएको र महँगोमा सामान ढुवानी गर्नु परेको उहाँको गुनासो छ ।

स्थानीय सरकार र स्थानीयवासीले पटक पटक निर्माण छिटो गर्नका लागि ताकिता गरेको भए पनि ठेकेदार कम्पनीले कुनै वास्ता गरेको छैन । पक्की पुलको निर्माण अलपत्र हुँदा नागरिकले सास्ती भोग्नु परेको नगर प्रमुख हस्त पुनले बताउनुभयो । निर्माण कम्पनी र सम्बन्धित निकायलाई काम अघि बढाउन पटक पटक आग्रह गरिएको भए पनि सुनुवाइ नभएको उहाँको भनाइ छ । सडक डिभिजन कार्यालय सुर्खेतलाई काम नगर्ने ठेकेदारको ठेक्का तोड्न र नयाँ ठेक्कामार्फत काम सुरु गर्न भनिएको उहाँले जानकारी दिनुभयो ।