काठमाडौँ, माघ ११ गते । उपत्यकाको पूर्वी भेग साँखुको शालीनदीमा एकमहिने माधवनारायण मेला बिहीबारदेखि सुरु हुने भएको छ ।
हरेक वर्ष पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुने हिन्दु धर्मावलम्बीको यो पर्व स्वस्थानी व्रतकथा वाचन तथा माधवनारायणको पूजा आराधना गरी मनाइन्छ । माघ शुक्ल पूर्णिमासम्म एक महिना हरेक दिन घर घरमा स्वस्थानी कथा पढ्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उहाँको कथा भने र सुने मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।
हातगोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्दपुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबिच संवाद भएको स्वस्थानी व्रतकथा सुन्ने, सुनाउने परम्परा छ । श्रीमाधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका जीवन श्रेष्ठले व्रतालुहरू यहाँ आइसकेको जानकारी दिनुभयो । कतिपय व्रतालुले शालीनदी छेउमा व्रत बसी पूजा उपासना गर्ने गरेका छन् । उहाँका अनुसार व्रतालुले बिहानै स्नान, त्यसपछि गणेशको पूजा, नित्य मध्याह्न कालमा महादेव र पार्वतीको पूजा गरी बेलुकी साल्खाटोलदेखि ज्योतिर्लिङ्गेश्वरलगायत साँखु बजार सहस्रधारासहितको परिव्रmमा गर्ने गर्छन् । व्रतालुले माधवनारायणका मूल पुजारीसँग बेलुकी जल लिएपछि जुत्ता, चप्पल छुन नहुने र नुन खान नहुने व्रतविधि छ ।
व्रतका नियम
व्रतालुले एक महिनासम्म नुन, माछा, मासु, मरमसला, पशुपन्छी तथा जनावर, जुत्ता, मोजा, जुत्ता, चप्पल लगाएका मान्छेलाई छुन नहुने सनातनदेखिको नियम छ । व्रतालुले दुध र पानीबाहेक अन्य पेय पदार्थ सेवन गर्न नहुने विधि छ ।
दुध, चामलको भात, घिउ, चाकु, चिनी, चिउरा, केराउ, सुन्तला, लप्सी, उखु, अदुवा, रातो मुला र पालुङ्गो मात्र भोजन गर्न हुने नियम रहेको श्रेष्ठले बताउनुभयो । उहाँले भीमा एकादशीका दिन व्रतालुले दुई पटक व्रत बस्ने र व्रतपछि सुन्तला, उखु, तरुल, पिँडालु, दुधलगायतका फलाहार मात्र भोजन गर्ने नियम छ । व्रत बस्नेले भोजनमा जौ, तिल, कोदो, मकै, गहुँ, भटमासको प्रयोग गर्न नमिल्ने बताइन्छ । व्रतालु खान बसेपछि यताउता नउठीकन भोजन गर्नु पर्छ ।
परदेश यात्रा
व्रतालुले माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा सुरु गर्छन् । पहिलो दिन शालीनदीबाट वज्रयोगिनी ढोकासम्म साष्टाङ्ग दण्डवत् गर्दै जानु पर्छ । माघकृष्ण चतुर्दशीका दिन साँखुबाट वज्रयोगिनी र पशुपति गइन्छ । त्यसको भोलिपल्ट पशुपतिबाट फर्पिङ बास हुन्छ । अर्को दिन फर्पिङबाट साँखु बास बसिन्छ । माघ शुक्ल प्रतिपदामा यात्रा सकिन्छ । माघ शुक्ल तृतीयादेखि फेरि साँखुबाट पनौती पुगी एक रात बसिन्छ । भोलिपल्ट पनौतीबाट साँखु फर्कने परम्परा छ । साँखुमा श्रीपञ्चमी र लगला सप्तमी पर्व मनाइन्छ । माघ शुक्ल नवमीका दिन व्रतालुलाई खिर (तस्मी) खुवाउने प्रचलनसमेत छ । माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्थानको यात्रा गरिन्छ । भोलिपल्ट चाँगुबाट साँखु फर्कने परदेश यात्राको नियम रहेको समितिले जनाएको छ ।
सत्ययुगमा विष्णुको सल्लाहमा पार्वतीले यो व्रत बसी महादेवलाई पतिका रूपमा प्राप्त गरेकी शिव, स्कन्दलगायत पुराणमा वर्णन गरिएको छ । पार्वतीको आज्ञा अनुसार तीनै लोकमा स्वस्थानीको व्रत सुरु भएको विश्वास गरिन्छ ।
स्वस्थानीको व्रतविधि बताउन स्वर्गलोकमा नारद ऋषि र मत्र्यलोकमा सप्तर्षि एवं पाताललोकमा अश्वत्थामालाई पार्वतीले पठाएको कथा छ । साँखुमा व्रत बसेकाहरू मनोकाङ्क्षा पूरा गर्न तथा परिवारको सुख एवं खुसीका लागि कठिन नियम पालना गरेर बसेको बताउँछन् । विष्णुको स्वरूप माधवनारायणको प्रतिमालाई साक्षी राखी यो व्रत प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्छ ।