• १२ साउन २०८१, शनिबार

राष्ट्रिय सभा सदस्य निर्वाचन

मतदान स्थलमा शान्ति सुरक्षामा कडाइ

blog

भुटनदेवी माध्यमिक विद्यालय प्राविधिक शिक्षालय परिसरमा आयोजना गरिएको सर्वदलीय बैठकमा मतदान अधिकृतलगायत । तस्विरः राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, माघ १० गते । राष्ट्रिय सभा सदस्यका लागि बिहीबार हुने निर्वाचन अन्तर्गत बागमती प्रदेशमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० निर्वाचन अधिकृतको कार्यालय बागमती प्रदेश हेटौँडाले बुधबार मतदान स्थल हेटौँडा उपमहानगरपालिका –४ स्थित मतदान स्थल भुटनदेवी माध्यमिक विद्यालय प्राविधिक शिक्षालय परिसरमा आयोजना गरेको सर्वदलीय बैठकमा निर्वाचनको तयारी पूरा भएको जानकारी गराइएको हो ।

जिल्ला अदालत मकवानपुरका न्यायाधीश एवं निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान अधिकृत लगायत कर्मचारीको व्यवस्था, सुरक्षा व्यवस्था, मतदान केन्द्रको व्यवस्था लगायतका तयारी पूरा भएको जानकारी दिनुभयो ।

उहाँले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न राजनीतिक दल, उम्मेदवार र मतदाता लगायतलाई आग्रह गर्नुभयो । सो अवसरमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइ, मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजाल र सशस्त्र प्रहरीको प्रहरी उपरीक्षक अनिल कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना बनाइएको जानकारी दिनुभयो ।  

उहाँहरुले मतदान स्थलमा निर्वाचनमा खटिएका कर्मचारीसहित मतदाता र दलका प्रतिनिधि दुई जना मात्र आउन पाउने व्यवस्था गरिएको बताउनुभयो । 

मतदान स्थल भुटनदेवी माध्यमिक विद्यालय प्राविधिक शिक्षालय परिसरमा दुई वटा मतदान केन्द्र तयार गरी एउटा मतदान केन्द्रमा मतदान अधिकृतसहित १० जना कर्मचारी रहनेगरी मतदान केन्द्रको व्यवस्था मिलाएको छ । 

यसैबीच बिहीबार हुने निर्वाचनका लागि मतदाता आउनेक्रम सुरु भएको छ । बागमती प्रदेश सभा सदस्य र स्थानीय तहका नगर प्रमुख एवं उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षहरु मतदानका लागि बुधबार दिउँसैबाट आउनेक्रम सुरुभएसँगै हेटौँडामा चहलपहल बढेको छ ।

राष्ट्रिय सभा निर्वाचनमा मतदाता रहने बागमती प्रदेश सभा सदस्य र प्रदेशभित्रका स्थानीय तहका नगर प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि मतदान गर्न छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

बागमती प्रदेशबाट अल्पसङ्ख्यक र अपाङ्गता, महिला, दलित र अन्य गरी चार क्षेत्र (क्लष्टर) का चार जनाका लागि राष्ट्रियसभा सदस्यमा निर्वाचन हुँदैछ । यस प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि नेकपा (एमाले) र नेपाल मजदुर किसान पार्टीको चार–चार, राष्ट्रिय प्रजातन्त्र पार्टीको तीन, नेपाली कांग्रेसको दुई, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एक–एक जना गरी १५ जना उम्मेदवार रहेका छन् । 

राष्ट्रिय सभा सदस्य निर्वाचनमा यस प्रदेशबाट मतदान गर्ने मतदाता ३४७ जना रहेका छन् ।राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान बिहीबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म तय गरिएको छ ।