• १३ साउन २०८१, आइतबार

तीन वर्षमा ११ लाखले गरे स्वास्थ्य बिमा

blog

लक्ष्मण पौडेल

भैरहवा, माघ १० गते । लुम्बिनी प्रदेशका करिब ११ लाख नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । स्वास्थ्य बिमा बोर्ड लुम्बिनी प्रदेशका अनुसार पछिल्लो तीन वर्षमा उक्त सङ्ख्यामा नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका हुन् । बिमा बोर्ड लुम्बिनीका संयोजक जनकबहादुर साउदले तीन वर्षमा उल्लेख्य मात्रामा नागरिक आबद्ध हुनु राम्रो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आउँदा वर्षमा अझै धेरै विमति बन्नुहुने छ भन्ने हाम्रो विश्वास छ ।”

प्रदेशमा स्वास्थ्य बिमा सेवा लागु भएको तीन वर्ष भएको छ । यो अवधिमा १० लाख ९२ हजार ६७३ जना विमति भएको बोर्डको तथ्याङ्क छ । “यो सङ्ख्या प्रदेशको कुल जनसङ्ख्याको २१ दशमलव ३३ प्रतिशत हो”,उहाँले भन्नुभयो, “हामीले पूरै नागरिकलाई बिमामा आबद्ध गर्ने गरी कार्यक्रमहरू अघि बढाएका छौँ ।”

लुम्बिनी प्रदेशको कुल जनसङ्ख्या ५१ लाख २२ हजार ७८ छ । यसमध्ये १० लाख ९२ हजार ६ सय ७३ जना बिमित भएका हुन् । बिमितमध्ये पाँच लाख २४ हजार ७७० पुरुष, पाँच लाख ६७ हजार ७८७ महिला र ११७ जना अन्य छन् । “छोटो समयमा यतिधेरै नागरिक बिमित हुनु सकारात्मक कुरा हो”, साउदले भन्नुभयो, “कार्यक्रमको प्रभावकारिता बढ्दै गइरहेको छ, बिस्तारै सबै नागरिक समावेश हुन्छन् भन्ने विश्वास लिएका छौँ ।”

साउदले प्रदेशका बाँकी ७९ प्रतिशत नागरिकलाई पनि बिमा कार्यक्रममा समावेश गर्नका लागि पहल भइरहेको बताउनुभयो । बोर्डले दिएको तथ्याङ्क अनुसार पाल्पामा दुई लाख ३६ हजार ७१७ जना नागरिक स्वास्थ्य बिमाबाट विमति भएका छन् । नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागु गरेपछि पाल्पामा २०७३ सालमा यसको सुरुवात भएको हो । बिस्तारै अन्य जिल्लामा पनि कार्यक्रम लागु हुँदै २०७७ साल फागुनसम्म प्रदेशका १२ वटै जिल्लामा बिमा सेवा कार्यक्रम विस्तार गरिएको थियो ।

रुपन्देही जिल्लामा एक लाख ६१ हजार ५८१, बर्दियामा एक लाख २८ हजार ९९६, गुल्मीमा एक लाख सात हजार ३१२, कपिलवस्तुमा एक लाख चार हजार ४८, अर्घाखाँचीमा ८२ हजार ११६, बाँकेमा ७१ हजार २०५ नागरिक बिमित छन् । यस्तै, प्युठानमा ६३ हजार ८८६, दाङमा ४५ हजार तीन, नवलपरासी पश्चिममा ४४ हजार १६८, रोल्पामा ३८ हजार ९३९ विमति छन् ।

सबैभन्दा कम रुकुमपूर्वमा आठ हजार ७०२ जना विमति रहेको स्वास्थ्य बिमा बोर्डको कार्यालयले जानकारी दिएको छ । बिमा कार्यक्रमले नागरिकलाई उपचारमा सहज हुने गरेको छ । यसैले कार्यक्रममा सहभागिता हुन सबैलाई बोर्डले आग्रह गरेको छ । साउदले भन्नुभयो, “बिमाका फाइदा धेरै छन्, समयमै बिमा गरेर यसबाट लाभ लिन सकिन्छ ।”