• १३ साउन २०८१, आइतबार

‘कार्यान्वयनयोग्य योजना तर्जुमा हुनुपर्ने’

blog

काठमाडौँ, माघ १० गते । विकास निर्माणमा देखिएका विद्यमान समस्या समाधान गर्ने प्रस्ट योजनासहित आगामी योजना तर्जुमा गर्नुपर्ने उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बताउनुभएको छ । 

१६ औँ आवधिक योजनाका राष्ट्रिय योजनाका पदाधिकारीसँग मङ्गलबार छलफलका क्रममा उहाँले अहिले विकास निर्माणमा देखा परिरहेको लामो प्रशासनिक प्रक्रिया, जग्गा प्राप्ति र रुख कटानीको झन्झटिलो व्यवस्थाको सही विकल्प पहिचान गरी योजना आयोगलाई आग्रह गर्नुभयो । छलफलका क्रममा उपप्रधानमन्त्री खड्काले कुनै पनि योजना जनताले दैनिक रूपमा भोगिरहेका समस्याको समाधान हुने र जनताले पाउने सेवासुविधालाई थप सहज बनाउनुपर्ने सुझाव दिनुभएको थियो । योजना तर्जुमा गर्दाकार्यान्वयनयोग्य र लक्ष्य प्राप्तिको सुनिश्चितता हुनुपर्ने बताउनुभयो । 

देशको भूगोल र मौसम अनुसारको उत्पादनको सुनिश्चिततासहित ठोस अनुसन्धान गर्न र किसानको उत्पादनले बजार पाउने विषयलाई प्राथमिकतामा राख्न पनि उहाँले आग्रह गर्नुभयो । 

विगतका योजना समयमै पूरा हुन नसक्नुका कारण पत्ता लगाएर समाधानका उपायसहित १६ औँ योजना तर्जुमा गर्न पनि उपप्रधानमन्त्री खड्काको सुझाव थियो । विभिन्न कारणले विकास निर्माणमा पछि परेका प्रदेशहरूलाई क्षतिपूर्तिसहितको योजना बनाउने विषयमा पनि योजना आयोगका पदाधिकारीको उहाँले ध्यानाकर्षण गराउनुभयो । यसरी योजना बनाउँदा सम्बन्धित प्रदेशका जनताले अनुभूति गर्ने र व्यवहारमा लागु हुने गरी बनाउनुपर्नेमा उहाँको जोड थियो ।