• १३ साउन २०८१, आइतबार

सिमकोट हिल्सा सडक बन्द

blog

च्याछरामा सडकको स्तरोन्तती हुँदै । तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, माघ ९ गते । सिमकोट हिल्सा सडक अनिश्चित कालका लागि बन्द गरिएको छ । हिल्सा सिमकोट सडक आयोजनाले उक्त खण्डको च्याछरामा सडक निर्माण कार्य तीव्र पारेको कारण यातायात सेवा अवरुद्ध भएको हो । 

हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले अनिश्चित समयका लागि सिमकोट हिल्सा सडक बन्द गरिएको बताउनुभयो । उहाँले सिमकोट हिल्सा सडक खण्डको च्याछरामा सडक निर्माण कार्य तीव्र पारिएकोले कामलाई अवरोध सिर्जना नहोस् भन्नका लागि यातायात सेवा बन्द गरिएको बताउनुभयो । सो क्षेत्रमा वैकल्पिक सडक निर्माणका लागि अन्य विकल्प समेत नभएको कारण सडक बन्द गर्नुको अन्य उपाय आयोजनासँग नभएको उहाँले बताउनुभयो । 

आयोजनाले एक सूचना जारी गरी सिमकोट हिल्सा सडक अनिश्चित समयका लागि बन्द गरिएको सबैलाई जानकारी गराएको छ । चिसो मौसम भएपनि उहाँले सडक निर्माण कार्य दैनिक बाह्र घण्टा भन्दा बढी समय भइरहेको बताउनुभयो । जति सक्दो च्याछरा क्षेत्रको सडकको स्तारोन्नति कार्य पूरा गरेर सडक सुचारु गर्नेतर्फ आयोजना लागेको उहाँले बताउँदै तर चट्टानी क्षेत्र भएको कारण समय लाग्ने बताउनुभयो । 

सडक निर्माण कार्य भइरहेकोले सिमकोटबाट गाउँपालिका केन्द्र याल्वाङ, तुम्कोट, यारी र हिल्साका लागि यातायात सेवा बन्द भएको छ । सडक बन्द भएपछि यातायातका साधनहरू भने ठप्प छन् । ओसिस इन्जिनीयरिङ एण्ड बिल्डर्सका स्थानीय प्रतिनिधि प्रेम कार्कीले च्याछरामा पचास जना कामदार लगाएर ग्याविन भर्ने कार्य भइरहेको र मेसिनबाट पनि काम जारी रहेको बताउनुभयो । उहाँले आफू पनि जतिसक्दो उक्त क्षेत्रको काम सम्पन्न गरेर सडक सुचारु गर्ने प्रयासमा रहेको बताउँदै केही दिनमा चट्टानी भीरको काम पनि सुरु हुने बताउनुभयो । उहाँले निर्माण कार्य भएको कारण यति समयमा सडक सुचारु हुने भन्ने विषयमा भने भन्न नसकिने बताउनुभयो । 

सडक बन्द भएपछि नाम्खा गाउँपालिकाका कर्मचारीहरू, स्थानीयलाई आउजाउमा समस्या देखिएको छ भने र व्यापारीको सामान ढुवानी पनि रोकिएको छ । च्याछरा क्षेत्रको सडकको स्तरोन्नति कार्य पूरा भएमा अन्य स्थानमा काम गर्दा भने यसरी यातायात बन्द गर्नुपर्ने अवस्था रहने छैन ।