• १६ भदौ २०८१, आइतबार

‘उपभोक्ताले खानेपानीको समस्या भोग्न नपर्ने’

blog

सन्तोष सुवेदी

कास्की, माघ ९ गते । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उपभोक्ताहरुले खानेपानीको समस्या भोग्न नपर्ने बताउनुभएको छ । निर्मलपोखरी बागमारा पुँडी साना सहरी खानेपानी तथा सरसफाइ आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएसँगै उद्धघाटन समारोह महानगर प्रमुख आचार्यले आयोजना तत्कालका लागि १९८० घरधुरीलाई पानी उपलब्ध गराएको भए पनि छिट्टै ३२ सय बढी घरमा धारा जोडिने बताउनुभयो ।

"खानेपानीलाई नेपालको संविधानले मौलिक हकका रूपमा उल्लेख गरेको छ । नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने कार्यमा पोखरा महानगरपालिका प्रतिबद्ध छ," उहाँले भन्नुभयो ।  चालु योजनाहरू समयमा नै सम्पन्न गर्ने र आवश्यक परेका स्थानहरूमा थप योजना सञ्चालनका लागि महानगरले विशेष पहल गरिरहेको उहाँले बताउनुभयो ।

हाल महानगरको डाटा कलेक्सनको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै प्रमुख आचार्यले प्राप्त डाटाहरू विश्लेषणपछि गरिबीको रेखामुनि रहेका नागरिकलाई प्रतिपरिवार १० हजार लिटरका दरले निःशुल्क खानेपानी उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्नुभयो । उनीहरूलाई खानेपानीसँगै निःशुल्क स्वास्थ्य बिमा पनि गरिदिने योजनामा आफूहरू रहेको उहाँले बताउनुभयो। "हामी गरिबीको रेखामुनि रहेको परिवारलाई प्रति परिवार मासिक १० हजार लिटरका दरले खानेपानी र उनीहरूको निःशुल्क स्वास्थ्य बिमा पनि गरिदिन्छौँ," प्रमुख आचार्यले भन्नुभयो ।

आयोजनाको कुल लागत ३४ करोड ९१ लाख ७२ हजार २ सय रहेको उपभोक्ता समितिका अध्यक्ष केशरप्रसाद निर्दोषीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त रकमको ५ प्रतिशत जनसहभागिता, २५ प्रतिशत नगर विकास कोषबाट ऋण सहायता र ८५ प्रतिशत नेपाल सरकारले बेहोरेको छ । आयोजना अन्तर्गत ३२ सय धारामध्ये १९८० धारा जडान गरिएका छन् । 

कलेक्टर वेल २ वटा, सम्पवेल २ वटा, स्लो सेन्ड फिल्टर ४ वटा, रफिङ फिल्टर ६ वटा, क्लियर वाटर ट्याङ्क १ वटा, आरभिटि ४ वटा, सेड हाउस ७ वटा निर्माण गरिएको छ भने, ट्रान्समिसन लाइन १० किमि र वितरण लाइन १८ किमि विस्तार गरिएको छ ।

आयोजनाको सरसफाइतर्फ ७ वटा क्रियापुत्री भवन निर्माण गरिएको छ भने, २ वटा सार्वजनिक शौचालय निर्माण गरिएको आयोजनाका उपाध्यक्ष मुक्तिनाथ पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार हाल बिहान ५ र साँझ ५ गरी दैनिक १० घण्टा पानी उपभोक्ताकामा जाने गरेको छ ।