• १६ भदौ २०८१, आइतबार

खानेपानी आयोजना सम्पन्नसँगै एक सय बढी घरधुरी लाभान्वित

blog

रमेश विश्वकर्मा

गुल्मी, माघ ९ गते । गुल्मीमा दुई खानेपानी आयोजना सम्पन्न भएका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका–२ जुभुङ्गस्थित सूर्योदय खानेपानी तथा सरसफाइ आयोजना र झिरुवासस्थित ठुलाखोला काभ्रेपोखरी खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएसँगै विद्यालय, स्वास्थ्य चौकी, आमा समूहसहित १४० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । 

नवप्रभात युवा सङ्घ गुल्मीद्वारा सामाजिक परिचालन सञ्चालनसँगै निर्माण भएका यी आयोजना गाउँपालिका अध्यक्ष सरोजकुमार थापा र वैकल्पिक उर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । दुई वटै खानेपानी आयोजना गुल्मीदरबार गाउँपालिका, ट्रीट्स परियोजना र स्थानीय समुदायको संयुक्त लगानीमा निर्माण गरिएको हो । 

त्यस अवसरमा गाउँपालिका अध्यक्ष थापाले पालिकाको सबै तहका खानेपानी समस्या समाधान गर्दै एक घर, एक धारा बनाउने बताउनुभयो । उहाँले लागत साझेदारीमा गाउँपालिका काम गर्न तयार रहेको भन्दै अन्य कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । 

वैकल्पिक उर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक ढकालले आयोजनाको दिगोपना, थप ऊर्जामार्फत आय-आर्जनका माध्यमसँग जोड्न स्थानीयले गरेको आग्रहलाई आफूले सकारात्मक रुपमा लिएको बताउनुभयो । उहाँले आयोजना निरन्तरताका लागि सबै संरचना सुरक्षित राख्न जरुरी रहेको बताउनुभयो । 

त्यस्तै, नवप्रभात युवा सङ्घका जिल्ला संयोजक धातानन्द भुसालले थुप्रै चुनौतीका बीच स्थानीय सरकार र दातृ निकायको सहयोगले आयोजना सम्पन्न गरिएको बताउनुभयो । उहाँले पानीलाई आम्दानीसँग जोड्नुपर्ने भन्दै स्थानीय सरकारले आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । 

जुभुङ्गस्थित सूर्योदय खानेपानी तथा सरसफाइ आयोजनामा गुल्मीदरबार गाउँपालिकाको ५१ लाख १७ हजार ४०६ रुपियाँ, ट्रीट्स परियोजनाको २३ लाख ४५ हजार २३५ रुपियाँ, स्थानीय समुदायको दुई लाख रुपियाँ र जनश्रमदान तीन लाख ५३ हजार ७९० रुपियाँ बराबरको लगानी भएको छ । 

झिरुवासस्थित ठुलाखोला काभ्रेपोखरी खानेपानी तथा सरसफाइ आयोजनामा गुल्मीदरबार गाउँपालिकाको ९७ लाख ८३ हजार ६७३ रुपियाँ, ट्रीट्स परियोजनाको ४४ लाख ८७ हजार ३७५ रुपियाँ, स्थानीय समुदायको पाँच लाख नौ हजार रुपियाँ र श्रमदान पाँच लाख २५० रुपियाँ बराबरको लगानी भएको छ ।