नवीन सुवेदी
सुर्खेत, माघ ९ गते । सुर्खेत भन्ने बित्तिकै जोडिएर आउने नाम हो, बुलबुले । तर, बुलबुलभित्रको जीर्ण संरचना र घाँस भरिएको तालले बुलबुले उद्यान भित्रको सौन्दर्ययतालाई गिज्याइरहेको छ । बाहिरबाट आउने जो–कोही एक पटक बुलबुले घुमेर जान्छन् । तर, उद्यानभित्र गइसकेपछि उद्यानभित्रको जीर्णता र तालमाथिको घाँसलाई हेर्दा पर्यटकहरू आश्चर्यमा पर्दछन् । त्यसै मध्येका एक हुनुहुन्छ, कैलालीको लम्किका कमल शाही ।
कुनै बेला बुलबुले तालको बारेमा रेडियोमा गीत सुन्नुभएका उहाँ कहिले त्यहाँ जाम्ला भन्ने सोचिरनु हुन्थ्यो । आइतबार उहाँलाई घुम्न आउने अवसर मिल्यो । तर, उद्यानभित्र छिर्दा अचम्ममा पर्नुभयो, ‘बुलबुले त निकै सुन्दर छ भन्थे यो त ताल हो कि बेताल हो म अचम्ममा परेँ,’उहाँले भन्नुभयो, ‘सोचेको भन्दा निकै भिन्न रहेछ, भित्रको कुनै पनि संरचना हेर्न लायक देखिएन ।’ उनले भनेजस्तै बुलबुले उद्यानभित्रको पर्यटकीय सौन्दर्ययता हराउँदै गएको छ । दिनप्रतिदिन बुलबुले उद्यान कुरूप बन्दै गइरहेको छ । उहाँ मात्र होइन बुलबुले घुम्नका लागि आउने हरेक पर्यटकहरू बुलबुलेको अवस्था देख्दा निराश हुन्छन् । आइतबार नै बुलबुलेमा भेटिएकी कमला बलामी भन्नुहुन्छ, ‘केही बर्सअघि यस्तो थिएन, यहाँ यस्तो संरचना नबने पनि गहिरो ताल थियो (अहिले घाँस भरिएको), अहिले त घाँसै घाँस रहेछ । अचम्म लाग्यो ।’
उसोत बुलबुले तालका विषयमा केही भ्रम पनि छन् । केही बर्सअघि प्रदेश सरकारले तलतिर संरचना खडा गरेको (अहिले घाँस भरिएको ताल) संरचनालाई नै बुलबुलेका रूपमा लिने गरेका छन् । तर, मुख्य मुहान माथिको बुलबुल गरेर जमिनबाट उम्रिएको पानी भएको स्थान हो । उक्त स्थानमा नुवाई–धुवाई गर्ने धाराहरू छन् । धाराहरू वरपर निकै फोहोर जमिरहेको हुन्छ । बाहिरबाट आउने पर्यटकहरू ओहोर–दोहोर गर्दा त्यहाँको फोहोर अवस्था देख्दा नाक खुम्च्याउने गर्छन् । त्यही पानी बगेर तलतिर जम्मा गरिएको स्थानलाई ताल बनाइएको छ । अर्को त्यहाँभित्र बनाइएका पर्यटकीय संरचनाहरूको अवस्था पनि बेहाल छ । पछिल्लो समय बुलबुले उद्यान क्षेत्रलाई पिकनिक खाने स्थलका रूपमा लिइन्छ भने कतिपय त्यहाँभित्र फोटो खिचाउनका लागि मात्रै जान्छन् । उद्यानभित्र केही फोटोग्राफरहरू छन्, उनीहरूले राम्रो फोटो खिचिदिने भएकाले कतिपय आन्तरिक पर्यटकहरू आउँछन् ।
बुलबुले तालभित्र हरेक वर्ष ‘कर्णाली उत्सव’ कार्यक्रम गरिन्छ । त्यसको कोडिनेटर मध्येका एक प्रकाश लामिछाने सामाजिक सञ्चालनमा लेख्नुहुन्छ–‘एउटा कामको सिलसिलामा बुलबुले उद्यानमा पुगियो, लगभग हजार भन्दा धेरै मानिसहरू थिए होला, नुहाउनेहरूको पनि उस्तै भिड थियो । अहिले पार्क पूर्ण रूपमा टिकटिङ सिस्टम सहितको छ र गेटमै टिकट काटेर पार्क छिर्नुपर्छ । तर, पार्कको हालत पहिलेको भन्दा झन्झन् विरक्त लाग्दो छ । वीरेन्द्रनगर बजार र बस्ती बाक्लो भएको स्थान छेउको यो नै एक मात्र ठुलो पार्क र हरियाली सहितको खुल्ला स्थान हो । तर स–शुल्क पार्कको हालत हे¥यो भने उल्टै पैसा दिन्छु गइदेऊ न भन्नुपर्ने खालको छ ।
सुर्खेत आउने बाहिरका साथीहरूले हामी सुर्खेत भनेर चिन्ने बित्तिकै सबैभन्दा मजाक उडाउने विम्ब बनेको छ, बुलबुले । सुधार कहिले होला बरु मेलम्ची छिटो आयो होला काठमाडौँमा तर, बुलबुले सुधारको गुरुयोजना पुरा हुन सकेन । हाम्रा संरक्षणकर्ताहरू बरु यसो इन्टर्नसिप गर्न ३ महिना जति टिकापुर पार्कमा गएर बसे हुन्थ्यो कि !’ उद्यानभित्रका छापे घर, चौताराहरूको अवस्था निकै दयनीय छ । हरियाली बगैँचाहरू पनि छैनन् ।
संरचना जस्तो भए पनि दैनिक ३००/५०० सम्मले अवलोकन गर्ने गरेको छन् । बिदाको दिन त १०००/१५०० सम्मले अवलोकन गर्ने गरेको बुलबुले उद्यानका कर्मचारीहरू बताउँछन् । अहिले मूल गेटमै टिकट सिस्टमको व्यवस्था गरिएको छ । २० रुपैयाँदेखि १५०० सम्मको टिकेट व्यवस्था गरिएको छ । तर, उद्यानभित्रको अवस्था कुरूप छ ।’ प्रदेश सरकारले तालको क्षेत्र विस्तारका लागि ०७५/७६ मा एक करोड ९६ लाख बजेट विनियोजन गरेको थियो । त्यसपछि पनि बजेट विनियोजन भइरह्यो । नगर विकास समितिको सहकार्यमा तालको क्षेत्र विस्तार र घेरबारका काम भएका छन् । तर, ताल वरिपरि बनेका संरचनाहरुपनि टुटफुटको अवस्थामा छन् भने खम्बामाथिको लाइटिङ तोडफोडको अवस्थामा छन् । संरक्षणको जिम्मेवारी पाएकाहरूले तालभित्रको रेखदेखमा खासै ध्यान नदिँदा बनेका संरचनाहरू फोहोर र टुटफुटको अवस्था छन् । नगर विकास समितिका लेखा सहायक खड्ग राना तालभित्रको झार हटाउने तयारी भइरहेको बताउनुहुन्छ ।
अबको एक महिनाभित्र झार हटाइने र त्यसका लागि दुई लाख बजेटको समेत व्यवस्थापन गरिएको उहाँको भनाइ छ । ‘त्यो सँगै बाँकी छापे घर, फोहोरा सञ्चालन लगायत भएका संरचनाहरूको स्तोरन्नतिको विषयमा स्टमेट गरिने छ,’ उहाँले भन्नुभयो, । स्वयम् उहाँ पनि बुलबुलेप्रति मान्छेको आकर्षण अझै रहेको तर, आइसकेपछि पुरै निराश बनेर फर्किनुपर्ने अवस्था रहेको बताउनुहुन्छ । उसोत् उद्यानको संरक्षणका लागि भनेर ११ जना कर्मचारी खटाइएको छ । उनीहरूको काम सरसफाइ गर्ने, संरचनाको संरक्षण गर्ने, टिकट काट्ने हो तर, उनीहरूले खासै ध्यान दिइरहेका छैनन् ।
बुलबुले उद्यान व्यवस्थापन समितिका संयोजक नवराज गुरुङ उद्यानलाई आकर्षक बनाउन पहल भइरहेको बताउनुहुन्छ । तर, यसअघि बनाइएको स्टमेट जम्मा ९० हजारको भएकाले त्यो स्टमेटले कुनै काम हुन नसक्ने उहाँको धारणा छ । ‘९० हजारले कसले के बनाइदिन्छ, यो सरकारी प्रक्रिया निकै गाह्रो छ हजुर,’ उहाँ भन्नुहुन्छ । नगर विकास समितिका अध्यक्ष समेत रहनुभएकी वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकाल विस्तार भएको ताललाई सफा गरेर बोटिङ सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो । ‘घाँस भएको ताल बुलबुले ताल होइन, माथिको हो तर, पानी जाने ठाउँलाई ताल विस्तार गरिएको हो,’ उहाँ भन्नुहुन्छ,‘संरचनाहरूको स्तरोन्नतिका लागि पनि सोचिरहेका छौँ । तालबारेमा स्टडी भइरहेको छ ।’