• १३ साउन २०८१, आइतबार

जाडो बिदामा भायलिन सङ्गीत

blog

काठमाडौँ, माघ ९ गते । युवापुस्तादेखि बालबालिकासम्म भायलिन वादनको लोकप्रियता बढ्दो छ । १६ औँ शताब्दीमा इटालीमा बनेको भायलिन नेपालमा पनि लोकप्रिय वाद्यवादनका रूपमा लिन थालिएको छ । पश्चिममा सङ्गीत पूर्वीय समाजमा भित्रिएपछि त्यसलाई आफ्नै ढङ्गले प्रस्तुत गरिन थालिएको भायलिन नेपाल–भारतमा ‘क्लासिकल’ धुन भरेर बजाउन थालिएको मानिन्छ । 

१२ वर्षीय बिनुसा कार्कीले भायलिन बजाएर विभिन्न पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “सानो र सुमधुर धुन आउने कारण नै भायलिन वादनतर्फ आकर्षित भएको हो । जाडोको बिदामा समयको उपयोग गरेर सिक्ने गरेको भायलिनले मलाई पुरस्कार जिताउन मद्दत ग¥यो ।” 

नौ वर्ष हुँदा भायलिन सिक्न र बजाउन थालेको अहिले स्टेज कार्यक्रममा प्रस्तुत गर्न सक्ने भएकी कार्कीले थप्नुभयो, “अहिले पनि सिक्दै छु र बजाउँदै छु । यो क्रम चलिरहन्छ ।” यस्तै जाडो महिनाको बिदा सदुपयोग गर्न कक्षा ३ मा अध्ययनरत विदुशी देवकोटाले पनि भायलिन सिक्न थाल्नुभएको छ । उहाँले भन्नुभयो, “टेलिभिजनमा बजाएको देखेपछि आफूलाई पनि सिक्ने इच्छा भएको र जाडोको बिदामा केही सिक्नु पर्छ भन्ने उद्देश्यले यहाँ सिक्न आएँ ।” 

शैलेन्द्र शाक्यले बालबालिकालाई भायलिन बजाउन सिकाउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिले बालबालिकामा अतिरिक्त प्रतिभा पनि सिकाउनुपर्छ भनेर विभिन्न कलाहरू सिकाउने गरिन्छ । जसमा भायलिन पनि पर्छ ।” पहिले भायलिनको महत्व वा पश्चिमी बाजा भनेर त्यति लोकप्रिय थिएन तर अहिले धेरैको रोजाइमा पर्ने गरेको छ । शाक्यले भन्नुभयो, “भायलिनमा चार वटा तार हुन्छन्, सङ्गीतको ताल अनुसार सानो लट्ठी जस्तो ‘बो’ ले तारमा रगडेर बजाइने भायलिन चिउँडोले अड्याएर बजाइन्छ ।” 

केहीले आफ्नो सहजता अनुसार बजाउने गरेका छन् । सबै उमेर समूहका मान्छे सिक्न आउने जानकारी दिँदै शाक्यले यहाँ सिकेको कला विभिन्न कार्यक्रममा सहभागी भएर देखाइरहेका पनि जानकारी दिनुभयो । पाँच वर्षदेखि ७० वर्षसम्मकालाई सिकाएको बताउँदै उहाँले भन्नुभयो, “पहिले भायलिन बजाएर के गर्ने भन्ने हुन्थ्यो, अचेल यो सिकाइ धेरै व्यावसायिक भएको छ ।” मैले सिकाएका केही विद्यार्थीले राष्ट्रियस्तरको प्रतियोगितामा स्वर्ण पदक हासिल गरेको प्रस्ट पार्दै केही विद्यार्थी अलि नाम चलेको ब्यान्डमा आबद्ध रहेका छन् । 

सङ्गीतले पेट पाल्दैन, छोराछोरीले पढाइ बिगार्छन् जस्ता कुरा परिवारका सदस्यको मुखबाट निस्कनु सामान्य मानिन्थ्यो । हिजोआज यो धारणा फेरिएको छ । आफ्ना छोराछोरीले पढाइसँगै कला पनि सिकून् भन्ने आमाबुवा धेरै छन् । उहाँका अनुसार यहाँ सिक्न आउनेमध्ये धेरैजसो सोखकै कारण आएका छन् । केहीले भने यसैमा भविष्य खोज्ने पनि सपना बनाएका छन् । विगत सात वर्षदेखि भायलिन बजाउँदै आएका रसिका बज्राचार्य भन्नुहुन्छ, “पहिले पहिले धुनहरू बजाउन त सजिलै लाग्थ्यो । पछि रागहरू बजाउन थालेपछि भने गाह्रो हुँदै जान्छ तर पनि सिक्नै प-यो ।”