• १३ असोज २०८१, आइतबार

रामतुलसी माविलाई राष्ट्रपति रनिङ शिल्ड उपाधि

blog

उपाधि विजेता रामतुलसी मावि टोली । तस्बिर : गोरखापत्र

इमान सिं राना

रामपुर (पाल्पा), माघ ८ गते । रामपुर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रामतुलसी नमुना माध्यमिक विद्यालयले जितेको छ । एथलेटिक्स, भलिबल, कबड्डी र तेक्वान्डोका विभिन्न खेलमा ९ स्वर्ण, ६ रजत र ४ कांस्य सहित १७ पदकका साथ रामतुलसीले निरन्तर चौथो पटक  रनिङ शिल्ड जित्न सफल भएको हो ।

प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र २ कांस्य सहित १० पदकका साथ जनकल्याण मावि रामपुर–१० द्वितीय भएको छ । त्यस्तै नवदुर्गा मावि रामपुर–६, ४ स्वर्ण, १ रजत र ३ कांस्य पदक सहित तृतीय र ३ स्वर्ण, ४ रजत र १ कांस्य पदकसहित भूपू सैनिक राईजिङ इङ्गलिश स्कुल रामपुर–५, सान्त्वना भएको छ ।

नगर भित्रका १७ सामुदायिक र ४ संस्थागत गरी २१ विद्यालयका छात्र छात्राहरूले प्रतियोगितामा प्रतिस्पर्धा गरेको रामपुर नगर शिक्षा शाखा अधिकृत विकल काफ्ले जानकारी दिनुभयो । प्रतियोगितामा विजयी विद्यार्थी र विद्यालयलाई शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । पुरस्कार वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेल हार जितका लागि मात्र नभई स्वास्थ्य र अनुशासनका लागि आवश्यक भएको बताउनुभयो ।