• ७ जेठ २०८१, सोमबार

विपन्न बस्तीमा गृहकार्य कक्षा

blog

कक्षा सञ्चालन । फाइल तस्बिर

चितवन, माघ ८ गते । खैरहनी नगरपालिकाले विपन्न बस्तीका बालबालिकालाई लक्षित गरी गृहकार्य कक्षा सुरुआत गरेको छ । विपन्न बस्तीका बालबालिकालाई बिहान र बेलुकाको समयमा नगरपालिकाभित्रका विभिन्न २८ स्थानमा गृहकार्य कक्षा सञ्चालन हुन थालेको हो ।

नगर प्रमुख शशिकुमार खनियाले गृहकार्य कक्षा सञ्चालनबाट घरमा अध्ययन गर्ने वातावरण मिलाउन कठिन विपन्न बस्तीका बालबालिकालाई बिहान बेलुका शिक्षकको सहयोगमा गृहकार्य गर्ने र नयाँ कुरा सिक्ने अवसर प्रदान गरिएको बताउनुभयो । नगरपालिकाभित्रका विभिन्न २८ स्थानमा सञ्चालन हुने गृहकार्य कक्षामा विपन्न परिवारका सात सय ८४ बालबालिका सहभागी हुने नगरप्रमुख खनियाले बताउनुभयो । 

ती स्थलमा समयको व्यवस्थापन गरेर बस्तीमा नै शिक्षक पुगेर नियमित गृहकार्य कक्षा सञ्चालन गर्नेछन् । कक्षा सञ्चालनका लागि पढाउने ठाउँ नगरपालिकाले नै व्यवस्थापन गर्नेछ । उहाँले भन्नुभयो, “बालबालिकाको पहिलो विद्यालय भनेकै आफ्नो घर हो, विपन्नताका कारण अभिभावकले बालबालिकालाई समय दिन नसक्ने अवस्थालाई सम्बोधन गर्दै बालबालिकालाई पढ्ने वातावरण सिर्जना गर्न हामीले गृहकार्य कक्षा सञ्चालन गरेका हौँ ।” 

घरमा पढ्ने ठाउँ व्यवस्थित नभएका बस्तीमा कार्यक्रम सञ्चालन गरिने र यसले पढ्ने बानीको विकास गराउने प्रमुख खनियाको विश्वास व्यक्त गर्नुभयो । गृहकार्य कक्षा सञ्चालन गर्ने शिक्षकले बालबालिकालाई विद्यालयबाट प्रदान गरिएको गृहकार्य गर्न र बालबालिकालाई अप्ठ्यारो लाग्ने विषय सिकाउन सहयोग गर्ने व्यवस्था गरिएको नगर उपप्रमुख कविता उप्रेतीले बताउनुभयो । 

उहाँले गृहकार्य कक्षामा सहभागी हुने बालबालिकालाई नगरपालिकाबाहेक अन्य क्षेत्रसँगको समन्वय गरेर शैक्षिक सामग्री वितरण गर्ने योजना रहेको बताउनुभयो । नगरपालिकाले कार्यविधि बनाएर गृहकार्य कक्षा सञ्चालन गरेको र यसका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा २० लाख बजेट विनियोजन गरेको छ । रासस