• १३ साउन २०८१, आइतबार

चार हजारभन्दा बढी सवारी साधन कारबाहीमा

blog

रमेश विश्वकर्मा

गुल्मी, माघ ८ गते । गुल्मीमा चालु आर्थिक वर्ष २०८०-०८१ को छ महिनामा चार हजारभन्दा बढी सवारी साधन कारबाहीमा परेका छन् । पछिल्लो छ महिनामा जिल्लामा बस, जिप, कार, ट्याक्टर, ट्रक, मोटरसाईकल लगायतका चार हजार ५०० सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

सवारी साधन कारबाहीबाट पछिल्लो छ महिनामा २७ लाख तीन हजार राजस्व सङ्कलन भएको छ । ट्राफिक नियम उलङ्घन गर्ने, तीव्रगतिमा सवारी साधन चलाउने, सवारी चालक अनुमतिपत्र नलिई सवारी साधन चलाउने, मापसे गरी सवारी साधन चलाउने चालक र विभिन्न सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक ज्ञानेन्द्र शर्माले जानकारी दिनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको तथ्याङ्क अनुसार छ महिनामा सवारी साधन कारबाहीमा सबैभन्दा बढी जिप÷कार परेका छन् । जिप÷कार दुई हजार ३२ कारबाहीमा परेका हुन् । मोटरसाइकल एक हजार ६४२ वटा, बस ३२१, ट्रक २९५ वटा, ट्याक्टर १७० कारबाहीमा परेका छन् । अन्य सवारी साधन ४० वटा कारबाहीमा परेका तथ्याङ्कमा उल्लेख गरिएको छ । 

यस जिल्लामा आर्थिक वर्ष २०७५-०७६ मा छ हजार ३८९ सवारी साधन कारबाहीबाट ३९ लाख सात हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७६-०७७ मा पाँच हजार ८७ सवारी साधन कारबाहीबाट ३१ लाख ८९ हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७७-०७८ मा सात हजार ९३९ सवारी साधन कारबाहीबाट ५१ लाख २३ हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७८-०७९ मा नौ हजार ६६४ सवारी साधन कारबाहीबाट ५७ लाख ५७ हजार ५०० रुपियाँ राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७९-०८० मा दश हजार ९७ सवारीसाधन कारबाहीबाट ६३ लाख १४ हजार राजस्व सङ्कलन भएको तथ्याङ्कमा उल्लेख छ । 

पछिल्लो छ महिनामा यस जिल्लामा ट्रक एक, बस दुई, ट्याक्टर एक र मोटरसाइकल तीन दुर्घटना भएका छन् । दुर्घटनामा परी तीन जना पुरुषको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख छ । 

सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक जनचेतनामूलक कार्यक्रमहरु तीव्र रुपमा सञ्चालनसँगै यातायात व्यवसायसँगको सहकार्यमा दक्ष प्राविधिकद्वारा सवारीसाधनको चेकजाँच समेत गरिएको प्रहरी वरिष्ठ नायब निरीक्षक शर्माले बताउनुभयो । समय–समयमा चालकको स्वास्थ्य परीक्षणसमेत गरिएको भन्दै विद्यालय कार्यक्रमलाई पनि तीव्ररुपमा अगाडि बढाइएको बताउनुभयो । गतवर्षको तुलनामा अहिले सवारी साधन दुर्घटना कम भएको बताउनुभयो ।