• १३ साउन २०८१, आइतबार

बाँकेमा जाडो बिदा थप

blog

चिसो बढेपछि दाउरा उपलब्ध गराउँदै नेपालगन्ज उपमहानगरपालिका । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, माघ ८ गते । 
बाँकेमा सुरु भएको शीतलहरका कारण चिसो झन् झन् बढ्दै गएको छ । शीतलहरले गर्दा चिसो बढ्दै गएपछि यहाँको जनजीवन कष्टकर बनेको छ ।

चिसोले गर्दा सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा प्रभावित हुन थालेपछि विभिन्न पालिकाहरुले जोडो बिदा थप गरेका छन् । नेपालगन्ज उपमहानगरले माघ ६ गतेसम्म बिदा दिएको हुँदा चिसो झन् बढेको जनाउँदै बिदालाई दुई दिन थपेको छ । सोही प्रकारले कोहलपुर नगरपालिका, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी र बैजनाथ गाउँपालिकाले पनि जाडो बिदा थप गरेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका संयोजक प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले समितिले तयार पारेको शीतलहर आकस्मिक योजना २०८० अनुसार नागरिकलाई शीतलहरबाट जोगाउने कार्यहरू भइरहेको बताउनुभयो ।

उहाँले चिसो अत्यधिक बढेर सर्वसाधारणलाई समस्या हुन थालेपछि स्थानीय सरकारहरूले आ–आफ्नो कार्य क्षेत्रमा सामूहिक आगो ताप्ने व्यवस्था मिलाएका छन् भने विपन्न र ज्येष्ठ नागरकलाई न्यानो लुगा समेत वितरण गरेका छन् ।

सोही प्रकारले चिसोकै कारण बालबालिका बिरामी पर्न थालेपछि विभिन्न पालिकाले विद्यालयमा जाडो बिदा थप गरेको पनि प्रजिअ पोखरेलले बताउनुभयो ।

चिसो अत्यधिक बढेको कारण नेपालगन्ज लगायतका सहरी क्षेत्रमा बिहान र बेलुकी सडकमा सवारी साधन र मानिसको आवागमन निकै कम देखिएको छ । सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या पनि घटेको छ ।

शीतलहर, कुहिरो र भिजिबिलिटी कम भएका कारण केहीदिनयता बिहान र बेलुका नेपालगन्जबाट हुने अधिकांश हवाई उडान प्रभावित भएका छन् । पहाडी जिल्लाहरू हुम्ला, बाजुरा, मुगुको रारा, डोल्पा र जुम्लाका लागि बिहान हुने हवाई उडानहरू अनियमित हुँदै आएको र काठमाडौँका लागि हुने उडानमा ढिलाइ हुँदै आएको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ ।