• १५ असार २०८१, शनिबार

जाजरकोटमा सुन्तला उत्पादन बढ्यो

blog

फाइल तस्बिर

जाजरकोट, माघ ८ गते । सुन्तलाको पकेट क्षेत्र मानिएको जाजरकोटमा चालु आर्थिक वर्षमा सुन्तला उत्पादन वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को भन्दा चालु आवमा २२ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण, परियोजना कार्यान्वयन इकाई कार्यालय जाजरकोटले जनाएको छ । 

छ सय २५ हेक्टरमा सुन्तलाखेती हुँदै आएको कार्यालयका प्रमुख दीपेन्द्र पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो वर्ष प्रतिहेक्टरमा १०.७ मेट्रिक टन सुन्तला उत्पादन भएकामा यस वर्ष १३.१ मेट्रिक टन उत्पादन भएको छ । जिल्लाभरि यस आवमा आठ हजार एक सय २० मेट्रिक टन सुन्तला उत्पादन भएको जनाउँदै उक्त सुन्तलाको मूल्य ३२ करोड ४८ लाख बराबरको रहेको पोखरेलले बताउनुभयो । 

करिब २७ करोडको सुन्तला बजारमा बिक्री भएको तथ्याङ्क परियोजना कार्यान्वयन इकाई कार्यालयमा आएको उहाँले जानकारी दिनुभयो । अघिल्लो आवभन्दा यस आवमा १५ हेक्टर बढी क्षेत्रफलमा सुन्तलाखेती गरिएको जनाइएको छ । तीन हजार दुई सय मेट्रिक टन बाहिर जिल्ला निर्यात भएको इकाईले कार्यालयले जनाएको छ । प्रतिकेजी ८० सम्ममा बिक्री हुने गरेको छ । जिल्लामा चार पालिकामा सुन्तला जोन लागू भएको थियो । 

कुशे गाउँपालिकाको वडा नम्बर १ देखि ९ सम्म, भेरी नगरपालिकाको वडा नम्बर १ देखि १० सम्म, नलगाड नगरपालिकाको वडा नम्बर १ देखि ६ सम्म र छेडागाड नगरपालिकाको वडा नम्बर १०, ११ र १२ लाई सुन्तला जोनका रूपमा छुटाइएको परियोजनाका प्रमुख पोखरेलले जानकारी दिनुभयो । आव २०७४/७५ मा लागू भएको यो कार्यक्रमबाट यहाँका किसानले लाभ लिँदै आएका छन् । 

उहाँका अनुसार २१ समूह, ११ सहकारी, एक सय ३१ निजी क्षेत्र इकाई कार्यालयमा सूचीकृत भएर काम गरिरहेका छन् । बर्सेनि सुन्तलाखेती हुने जमिनको मात्रा बढ्दै जाँदा उत्पादनमा पनि वृद्धि हुँदै गएको पोखरेलको भनाइ थियो । किसानको खेतबारीमा गएर प्राविधिकद्वारा विभिन्न तालिम, खेतीबारे जानकारी, आवश्यक उपकरणका साथै समयसमयमा गरिने छलफलले किसानलाई सुन्तला खेतीमा थप प्रोत्साहन मिलेको किसान शक्तिबहादुर ओलीले बताउनुभयो । 

यसरी गरिएको छलफल प्रभावकारी बन्दै गएको उहाँको भनाइ थियो । अधिकांश सुन्तला बगैँचा रहेका स्थानसम्म सडक विस्तार भएकाले पनि किसानलाई बिक्रीवितरणमा सहजता भएको ओलीले बताउनुभयो । परियोजनाले ढुवानीका सवारीसाधन खरिदमा अनुदान दिएकाले किसानलाई थप फाइदा भएको उहाँले जनाउनुभयो । नलगाड-३ का अगुवा किसान कमल पुनले भन्नुभयो, “गाउँघरमा पाहुनालाई नासोका रूपमा प्रयोग हुँदै आएको सुन्तलाले अब व्यावसायिक अभ्याससँगै अर्थआर्जनको मुख्य स्रोत बन्दै गएको छ । खाली जमिनभरि लगाइएको सुन्तलाका बोटले यतिबेला गाउँलाई नै सुन्तलामय बनाएको छ । यहाँका किसान अब व्यापारी भएका छन् ।” 

उहाँका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानलाई सुन्तला हुर्काउन, बढाउन र स्वस्थ राख्नका लागि विभिन्न व्यावसायिक सीप सिकाउँदै आएको छ । परियोजना कार्यान्वयन इकाई ले नौ सदस्यीय सुन्तला तथा फलफूल जोन सञ्चालन समन्वय समिति गठन गरेको छ । परियोजना कार्यान्वयन कार्यविधि, २०७७ मा व्यवस्था भएबमोजिम जोन विकास कार्यक्रम सञ्चालनमा सहजीकरण गर्न समिति गठन गरिएको इकाई प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार लाभग्राहीकोसमेत प्रतिनिधित्व हुने गरी नौ सदस्यीय समन्वय समिति गठन गरिएको हो । समितिले विद्यमान प्रविधि र पूर्वाधारको अभिलेख तयार गर्ने, किसान समूह, सहकारी, उद्यमीलगायतको विवरण अद्यावधिक गर्ने, किसानको माग सङ्कलन गर्ने, कार्यक्रम सञ्चालनमा सहजीकरण गर्ने, परियोजनाअन्तर्गत सरोकारवालासँग समन्वय र सहकार्य गर्ने, पूर्वाधारको विकास, प्रयोग र संवर्द्धन गर्न सहयोग गर्नेछ । 

त्यस्तै योजना तर्जुमामा सहकार्य गर्ने, कार्यक्रम अनुगमन एवम् पृष्ठपोषणमा सहजीकरण गर्नेलगायत काम गर्ने प्रमुख पोखरेलले जानकारी दिनुभयो । विभिन्न ठाउँमा सुन्तलालाई सुरक्षित राख्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आर्थिक सहयोगमा ‘सेलार स्टोर’ स्थापना गरिएको पोखरेलले जानकारी दिनुभयो । यसले सुन्तला जोगाएर पछिसम्म बिक्री गर्न सकिने उहाँको भनाइ थियो ।

किसानलाई सुन्तलाबाट प्रशस्त आम्दानी गरी आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले जिल्लाका विभिन्न छ ठाउँमा सेलार स्टोर स्थापना गरिएको छ । सुन्तला सेलार स्टोरमा राखेर फागुनदेखि चैतसम्म बिक्री गर्न पाएमा राम्रो मूल्य पाउने सम्भावना रहेको छेडागाड-१० का नरेश विक्रम शाहले बताउनुभयो । सेलार स्टोरमा सुन्तला जम्मा गरी सुरक्षित राख्न सकेमा चैतको गर्मीयाममा राम्रो आम्दानी गर्न सकिने उहाँको भनाइ थियो ।

गर्मी मौसममा सुन्तलाको माग उच्च हुने भएकाले किसानले सेलार स्टोरबाट फाइदा लिन सक्ने छन् । सुन्तलालाई उचित तापक्रममा सुरक्षित राखेर मूल्य पाउने समयमा बिक्री गर्ने उद्देश्यका साथ स्टोर स्थापना गरिएको परियोजना प्रमुख पोखरेलले जानकारी दिनुभयो । कुशे-५, ७ र ८, छेडागाड-१० र १२ र नलगाड-३ मा सेलार स्थापना भएका हुन् । यी क्षेत्रमा सबै भन्दाबढी सुन्तला उत्पादन हुने गर्दछ । 

बेमौसममा पनि सुन्तला तथा अन्य तरकारी बजारमा ल्याई बिक्री वितरण गरी आर्थिक रूपमा सक्षम हुन यो प्रभावकारी हुने परियोजनाको भनाइ छ । सिजनमा सस्तोमा बिक्री हुने तथा कुहिएर खेर जाने समस्याको समाधानका सेलार स्थापना गर्न थालिएको पोखरेलले बताउनुभयो । उहाँका अनुसार प्रतिसेलार १५ लाख ८५ हजारमा निर्माण गरिएका छन् । यसका लागि परियोजनाले १० लाख ३३ हजार तीन सय ३३ र किसानले पाँच लाख ६१ हजार छ सय ६७ खर्च गरेका छन् । 

पाँच मेट्रिकटन क्षमता रहेका सेलारमा छ महिनासम्म सुन्तला सुरक्षित राख्न सकिन्छ । विद्युत पुगेका ठाउँमा विद्युत्बाट र अन्य ठाउँमा सोलार सिस्टमबाट चार्ज गरेर सुन्तला राख्ने व्यवस्था मिलाएको परियोजनाका धरम चन्दले जानकारी दिनुभयो । परियोजनाका अनुसार किसानको मागअनुसार आगामी वर्ष नयाँ ठाउँमा सेलार स्थापना गर्दै जाने योजना रहेको छ । 

किसानका खेतबारीमा पुगेर मल प्रयोग गर्ने विधि, काँटछाट तथा औषधि दिनेलगायत प्राविधिक काममा किसानलाई सहयोग गरिरहेको चन्दले बताउनुभयो । सेलार स्थापनाका साथै परियोजनाको सहयोगले व्यवसायिक सुन्तलाखेती गर्न सहज भएको यहाँका किसान बताउँछन् । रासस