• १३ साउन २०८१, आइतबार

‘आर्यमञ्जुश्री नामसङ्गीति गाथा’ विमोचन

blog

काठमाडौँ, माघ ८ गते । नामसङ्गीति वाचन गुरु चित्रवीर वज्राचार्यको ज्याःजंकु अर्थात् भीमरथारोहणको अवसरमा ‘आर्यमञ्जुश्री नासंसङ्गीति गाथा (नेपालभाषा अनुवादसहित) तथा धर्मश्रीमित्रको कथा’ पुस्तक विमोचन गरिएको छ ।

गुरु वज्राचार्यका पाँच सयभन्दा बढी शिष्यसाथ नामसङ्गीति पाठ गरिएको समारोहमा विमोचन गरिएको सो पुस्तकको आवरण पृष्ठमा वरिष्ठ चित्रकार लोक चित्रकारको कृति समेटिएको छ । पुस्तकमा पण्डित बद्रीरत्न वज्राचार्यको स्वयम्भू पुराणको षष्टम् अध्यायमा रहेको धर्मश्री मित्रको कथा, बौद्ध अध्येता मीनबहादुर शाक्यद्वारा सम्पादित नामसङ्गीति नेपालभाषा अनुवाद षटचक्र अनुशंसा र गुरु वज्राचार्यको सङ्क्षिप्त जीवनी समावेश गरिएको छ ।

वज्राचार्यका गुरु एवं नेपाल परम्परागत बौद्धधर्म सङ्घका अध्यक्ष प्राडा नरेशमान वज्राचार्यलाई गुरुपूजा गरी अभिनन्दनपत्र अर्पण गर्दै सम्मान गरिएको थियो । बौद्ध अध्येताहरूका अनुसार ११ औँ शताब्दीदेखि काठमाडौँ उपत्यकामा प्रचलित आर्य नामसङ्गीति वाचन परम्परा एउटा अमूर्त संस्कृतिका रूपमा रहेको छ । हरेक महिनाको प्रतिपदा, अष्टमी, पूर्णिमा, औँसी, पूर्णिमा, गुंलालगायतका अवसरमा विशेष रूपमा पाठ गरिने नामसङ्गीति प्रत्येक विहारमा दिनहुँ पाठ गर्ने प्रचलनसमेत रहेको छ ।