• १३ साउन २०८१, आइतबार

'आर्यमञ्जुश्री नामसङ्गीति गाथा' पुस्तक लोकार्पण

blog

काठमाडौं, माघ ७ गते । नामसङ्गीति वाचन गुरु चित्रवीर बज्राचार्यको ज्याःजङ्कु अर्थात् भीमरथारोहणको अवसरमा “आर्यमञ्जुश्री नाँससङ्गीति गाथा (नेपालभाषा अनुवादसहित) तथा धर्मश्री भित्रको कथा” पुस्तक विमोचन गरिएको छ ।

गुरु बज्राचार्यका पाँच सयभन्दा बढी शिष्यसाथ नामसङ्गीति पाठ गरिएको समारोहमा विमोचन गरिएको सो पुस्तक बज्राचार्यका सुपुत्र सुरजवीर, सञ्जीववीर, सुदिजवीर तथा बुहारीहरू रमा र रिजु बज्राचार्यले प्रकाशन गर्नुभएको हो । पुस्तकको आवरण पृष्ठमा वरिष्ठ चित्रकार लोक चित्रकारको कृति समेटिएको सो पुस्तकको सम्पादन खेमराज शाक्यले गर्नुभएको हो ।

यस पुस्तकमा पण्डित बद्रीरत्न बज्राचार्यको स्वयम्भू पुराणको षष्टम अध्यायमा रहेको धर्मश्री मित्रको कथा, बौद्ध अध्येता मीनबहादुर शाक्यद्वारा सम्पादित नामसङ्गीति नेपालभाषा अनुवाद षटचक्र अनुशंसा र गुरु बज्राचार्यको संक्षिप्त जीवनी समावेश गरिएको छ । सो अवसरमा बज्राचार्यका गुरु एवम् नेपाल परम्परागत बौद्धधर्म सङ्घका अध्यक्ष प्रा.डा. नरेशमान बज्राचार्यलाई गुरुपूजा गरी अभिनन्दन-पत्र अर्पण गर्दै सम्मान गरिएको थियो भने नेपाल परम्परागत बौद्धधर्म सङ्घ, यस सङ्घका महासचिव दिनेश शाक्य तथा सम्पादन खेमराज शाक्यलाई धन्यवाद ज्ञापन–पत्र अर्पण गरिएको थियो ।

बौद्ध अध्येताहरूका अनुसार ११ औँ शताब्दीदेखि काठमाडौँ उपत्यकामा प्रचलित आर्यनामसङ्गीति वाचन परम्परा एउटा अमूर्त संस्कृतिको रूपमा छ । हरेक महिनाको प्रतिपदा, अष्टमी, पूर्णिमा, औँसी, पूर्णिमा, गुंला लगायतका अवसरमा विशेषरुपमा पाठ गरिने नामसङ्गीति प्रत्येक विहारमा दिनहुँ पाठ गर्ने प्रचलन समेत छ । यस परम्परामा समर्पितलाई सहजताका लागि पुस्तक प्रकाशन गरिएको बज्राचार्यका ज्येष्ठ सुपुत्र एवम् वरिष्ठ सञ्चारकर्मी सुरजवीर बज्राचार्यले जानकारी दिनुभयो ।

बज्रपाणी बोधिसत्त्वले चैत्र पूर्णिमाका दिन धान्यकटक महाचैत्यमा बसेर नामसङ्गीतिबारे देशना गर्नुभएको बज्रायानी बौद्धग्रन्थमा उल्लेख गरिएको छ ।