• १३ साउन २०८१, आइतबार

सालिक हटाएको विरोधमा नगरपालिकामा ताला

blog

अनावरणपछि सार्वजनिक गरिएको हरि भट्टराईको सालिक ।

हरि कोइराला

उर्लाबारी, माघ ६ गते । मोरङको लेटाङस्थित सहिद स्मृति प्रतिष्ठानले राखेको सहिद हरि भट्टराईको सालिक लेटाङ नगरपालिकाले नगर प्रहरी लगाएर तोडफोड गरेको भन्दै शुक्रबार नेकपा माओवादी केन्द्र निकट कार्यकर्ताले नगरपालिकामा ताला लगाएका छन् ।

नगरप्रमुख भूपेन्द्रकुमार लावतीले नगर प्रहरी परिचालन गरी सहिद भट्टराईको सालिक तोडफोड गर्न लगाएकोले उहाँको कार्यकक्षमा ताला लगाइएको माओवादी केन्द्रका नेता कृष्ण लम्सालले बताउनुभयो । लम्सालका अनुसार बिहीबार औपचारिक कार्यक्रम गरी सहिद स्मृति प्रतिष्ठानले सालिक अनावरण गरेको थियो । सहिद हरि भट्टराई (परिवर्तन) लगायतको सालिक राख्न नगरसँग पनि समन्वय भएको थियो । तर आफैँ सालिक राख्न अनुमति दिएर आफैँले नगर प्रहरी परिचालन गरी सालिक हटाउनुभयो । 

सहिद प्रतिष्ठान निर्माण स्थलका लागि नगर प्रमुखकै कार्यकक्षमा भेट गरेर मौखिक जानकारी सहित सो कार्यलाई अगाडी बढाइएको प्रतिष्ठानका अध्यक्ष लम्सालले बताउनुभयो । यसरी जानकारी सहित अगाडी बढ्दा नगर प्रमुखले दादागिरी शैलीमा प्रतिमा हटाएर तोडफोड गर्नु समग्र लेटाङबासीको अपमान भएको लम्सालको भनाइ छ । सहिद कसैको व्यक्तिगत हुँदैन, कुनै पार्टीको र धर्मको हुँदैन । सबैको साझा र राष्ट्रको हुन्छ । यस्तो काममा भाँजो हालेर नगर प्रमुखले गलत गर्नुभयो । 

नगर प्रहरीले सालिक हटाएर निर्माण स्थलमा तोडफोड गरेको भन्दै नेकपा माओवादी केन्द्र लेटाङले खेद प्रकट गरेको छ । सहिद स्मृति प्रतिष्ठान दर्ता गरी लेटाङ–४ र ५ मा पार्क निर्माणको काम सुरुवात भएको थियो । दश वर्षे जनयुद्धको समयमा १६ जना लेटाङवासीले साहदत्त प्राप्त गरेका थिए भने सो प्रतिष्ठान तिनै सहिदहरूको सम्झनामा निर्माण गर्न लागिएको थियो । जनयुद्धका क्रममा ईश्वर ढुङ्गाना (प्रभात) हरि भट्टराई (परिवर्तन), डम्बर चेम्जोङ (अजम्बर) पुष्प भट्टराई (वादल), मेनुका चेम्जोङ (नमुना), डिल्ली पौडेल (दिलीप), केवल रानामगर(कमल) लगायतका सहिदको सालिक  निर्माण गरी राख्ने कामको थालनी भएको थियो । 

सोही क्रममा पार्कमा बिहीबार साँझ सहिद हरि भट्टराई (परिवर्तन) को सालिक राखिएको थियो । सो सालिक नगरप्रमुख लावतीले नगर प्रहरी लगाएर हटाएको र निर्माण स्थलमा तोडफोड गरेको भन्दै माओवादीले त्यसविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ ।

सहिद स्मृति प्रतिष्ठान लेटाङका अध्यक्ष कृष्ण लम्सालले सालिक हटाएर बहादुरी देखाएको भन्दै त्यसका परिणाम ठिक नहुने चेतावनी दिनुभएको छ । उहाँले सयौँ सङ्घसंस्थाले जग्गा अतिक्रमण गर्दा मौन रहने प्रमुख लावतीले सहिद पार्कमा गिद्धे नजर लगाएको आरोप लगाउनुभयो ।

यता, लेटाङ नगरपालिकाका प्रवक्ता भूमबहादर सूर्यमगरले २०७३ पुस ५ गते तत्कालीन लेटाङभोगटेनी नगरपालिकाको सर्वदलीय बैठकले उक्त स्थानमा लेटाङ बसपार्क निर्माण गर्ने निर्णय गरेकोले सोही अनुसार डिपीआर निर्माण भई बसपार्क निर्माणको प्रक्रिया सुरु भइसकेकोले नगर प्रहरीले हटाएको विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ । उहाँले बिहीबार साँझपख स्थानीयलाई समेत खबर नगरी सालिक राखिएको बताउनुभयो । तर प्रतिष्ठानका अध्यक्ष कृष्ण लम्सालले मदन भण्डारी राजमार्गदेखि उत्तरको बचेको भागमा सालिक अनावरण गरिएकोले उक्त जग्गा बसपार्कको नभएको बताउनुभयो ।