• १३ साउन २०८१, आइतबार

गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नु राज्यको दायित्य : कार्यवाहक प्रधानमन्त्री

blog

नेपाली सेना स्वास्थ्यविज्ञान संस्थान निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्नुहुँदै कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का ।

काठमाडौं, माघ ५ गते । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकका लागि आवश्यक दक्ष जनशक्ति तथा सामाजिक उत्तरदायित्वको भावनाबाट अभिप्रेरित चिकित्सक नर्स, प्रयोगशालाविद्लगायतका स्वास्थ्यकर्मी उत्पादनमा जोड दिनुभएको छ । शुक्रबार नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान निरीक्षण गर्नुहुँदै कार्यवाहक प्रधानमन्त्री खड्काले यस्तो बताउनुभएको हो ।

उहाँले निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा अत्यधिक महँगाे भएकाले त्यसमा आम जनताको सहज पहुँच हुन नसकेको भन्दै सरकारी र सामुदायिक स्तरमा स्वास्थ्य केन्द्र तथा अस्पतालहरूको विकास गरी त्यहाँबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुने व्यवस्था मिलाउनु राज्यको प्राथमिक दायित्व भएको बताउनुभयो ।


स्वास्थ्य सेवामा नागरिकको सहज र सर्वसुलभ पहुँच स्थापित गर्न वर्तमान सरकारले विभिन्न कार्यक्रम अघि बढाइरहेको उहाँको भनाइ थियो

कार्यवाहक प्रधानमन्त्री खड्काले सार्वजनिक स्वास्थ्य संस्थाहरू सबल र सुदृढ भए मात्र सर्वसाधारण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले सर्वसुलभ स्वास्थोपचार सेवा प्राप्त गर्न सक्ने तथ्य कोभिड १९ तथा डेङ्गी सङ्क्रमणको समयमा स्पष्ट भइसकेको बताउनुभयो । यस कुरालाई हृदयङ्गम गरी सरकारले सबै सार्वजनिक अस्पतालको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यवाहक प्रधानमन्त्री खड्काले भन्नुभयो, ‘‘यस संस्थानबाट उत्पादन हुँदै गरेका सक्षम चिकित्सा जनशक्तिलाई अझ बढी प्रभावकारी रूपमा अगाडि बढाउन चिकित्सा जनशक्तिको राष्ट्रिय आवश्यकतालाई मनन गरी आगामी दिनमा पाठ्यक्रम अनुसारको शैक्षिक कार्यक्रम, समयानुकूल दक्ष जनशक्तिको विकास, सुदृढीकरण र आधुनिकीकरणलाई प्राथमिकतामा राखी थप शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै  अघि बढ्न म सम्पूर्ण संस्थान परिवारलाई आग्रह गर्न चाहन्छु ।’’

संस्थानमा शिक्षण तथा व्यवस्थापनमा लागि अहोरात्र खटिनुहुने शिक्षकवर्ग, सकल दर्जालगायत कर्मचारीहरुको समर्पण र सामूहिक प्रयासले नै आज यो संस्थानले शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘‘तपाईंहरुको निरन्तर परिश्रमकै कारण यहाँ अध्ययनरत विद्यार्थीहरुले गुणस्तरीय चिकित्सा शिक्षा प्राप्त गरिरहेका छन् । तसर्थ, यहाँहरु सबैले पुर्‍य ाउनुभएको योगदान ज्यादै नै प्रशसंनीय छ र यसको लागि म सबैलाई हार्दिक धन्यवाद दिँदै यो टीम स्प्रिटलाई आगामी दिनमा पनि निरन्तरता दिन हार्दिक आग्रह गर्न चाहन्छु ।’’


द्रुतगतिमा बदलिँदो विश्वपरिवेश तथा त्यससँगै देखा परेका स्वास्थ्य चुनौतीहरु सामना गर्न सक्षम चिकित्सा जनशक्ति उत्पादन गर्नेतर्फ याे संस्थान निरन्तर अग्रसर रहिरहन सकोस् भन्ने उहाँले कामना गर्नुभयो । यस संस्थानलाई चिकित्सा शिक्षा अध्ययनका लागि देशकै उत्कृष्ट मेडिकल कलेजको रूपमा स्थापित गर्न आगामी दिनमा यहाँका प्राध्यापक कर्मचारी तथा सकल दर्जाले थप प्रयास गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले संस्थामा आफू पहिलो पटक आए पनि यसबारे परिचित रहेको भन्दै नेपाली सेनाको एक महत्त्वपूर्ण अङ्गको रुपमा रहेको यस संस्थानले नेपाली सेनालाई मात्र नभई समग्र राष्ट्रलाई नै आवश्यक गुणस्तरीय चिकित्सा जनशक्ति उत्पादन गर्न महत्त्वपूर्ण योगदान गरिरहेको बताउनुभयो ।

मुलुकमा स्वास्थ्य प्रतिष्ठान तथा चिकित्सा अध्ययन संस्थानहरूको सङ्ख्यामा सङ्ख्यात्मक वृद्धिसँगसँगै तिनको अध्ययन, अध्यापन र स्वास्थ्य सेवा प्रवाहलाई चुस्त र गुणस्तरीय बनाउने कार्य चुनौतीपूर्ण रहेको भन्दै उहाँले यस क्रममा सम्बन्धित स्वास्थ्य प्रतिष्ठान तथा अध्ययन संस्थानहरूले आफ्नो गुणस्तरमा कुनै सम्झौता नगरी गुणस्तरीय अध्ययन, अध्यापन, अनुसन्धान र स्वास्थ्य सेवा प्रवाहमा निरन्तर ध्यान दिन आवश्यक रहेको धारणा राख्नुभयो ।

कार्यवाहक प्रधानमन्त्री खड्काले भन्नुभयो, ‘‘स्वास्थ्यक्षेत्र एउटा गतिशील क्षेत्र हो । दिनहुँ यस क्षेत्रमा नयाँ नयाँ अनुसन्धानहरू भई नयाँनयाँ उपचारपद्धति, प्रविधि र औषधीहरूको आविष्कार भइरहेको छ । त्यसलाई हामीले हाम्रो स्वास्थ्य प्रणालीभित्र समायोजन र अनुकूलन गर्दै जानुपर्ने खाँचो छ । यसका लागि यस संस्थानले पनि एकातिर थप पूर्वाधारहरूको विकास गर्दै जान र अर्कोतर्फ नयाँ प्रविधि र पद्धतिलाई क्रमशः आत्मसात् गर्दै अघि बढ्न आवश्यक देखिन्छ ।’’

सो अवसरमा नेपाली सेनाका प्रधानसेनापति, रक्षामन्त्रालयका निमित्त सचिव तथा नेपाली सेनाका अन्य अधिकारीकाे उपस्थिति थियो ।