• १३ साउन २०८१, आइतबार

ऊर्जा खपत बढाउने तयारी

blog

काठमाडौँ, माघ ५ गते । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऊर्जाको आन्तरिक खपत बढाउन सरकारले नीति निर्माणलगायतका तहमा काम गरिरहेको बताउनुभएको छ । 

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) को २७ औँ वार्षिक उत्सवका अवसरमा बिहीबार आयोजित एक कार्यव्रmममा उहाँले सरकारले आगामी वैशाखमा आयोजना गर्न लागेको लगानी सम्मेलनमा ऊर्जा क्षेत्रको विकास योजनामा पनि काम गरिरहेको बताउनुभयो । 

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकार र निजी क्षेत्रले लगानी बढाउन आवश्यक रहेको धारणा राख्नुभयो । देशमा ऊर्जा उत्पादनको सम्भावना बढेकाले पनि लगानीमा सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो । 

ऊर्जा उत्पादकहरूले व्यापार मात्रै नगरेर देश विकासका लागि महत्वपूर्ण योगदानसमेत गरिरहेको उहाँले बताउनुभयो । ऊर्जा उद्यमीलाई सुरक्षामा कुनै पनि कमी हुन नदिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । “ऊर्जा उद्यमीले निर्धक्क भएर लगानी गर्दा हुन्छ, सुरक्षाको कुनै चिन्ता लिनु पर्दैन,” उहाँले भन्नुभयो ।  

कार्यव्रmममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले ऊर्जा विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । निजी क्षेत्रको माग पूरा गर्न सरकार प्रयत्नशील रहेको र निजी क्षेत्रको माग पूरा भएपछि ऊर्जा उत्पादन बढाउन सहयोग पुग्ने पनि उहाँले बताउनुभयो । पछिल्लो दशकमा आठ सयबाट २९ सय मेगावाट उत्पादन क्षमता पुग्नुमा निजी क्षेत्रको सबैभन्दा ठूलो योगदान रहेको उहाँले जानकारी दिनुभयो । अबको केही महिना निजी क्षेत्रबाट करिब पाँच सय मेगावाट थप विद्युत् प्रणालीमा जोडिने पनि उहाँले बताउनुभयो । 

कार्यव्रmममा इप्पानका अध्यक्ष गणेश कार्कीले प्रधानमन्त्रीको भारत भ्रमणपछि ऊर्जा उद्यमी उत्साहित भएको बताउँदै १० वर्षमा १० हजार मेगावाट विद्युत् बेच्ने सरकारको सम्झौता स्वागतयोग्य रहेको बताउनुभयो । “अहिले देश ऊर्जामय भएको छ,” उहाँले भन्नुभयो, “सरकारलाई अबको दशक ऊर्जा दशक घोषणा गर्न माग गर्छु ।” 

बाढीपहिरोका कारण ३१ आयोजनामा क्षति भएको भन्दै ती आयोजनाको समस्या समाधान गर्न पनि उहाँले आग्रह गर्नुभयो । १० हजार मेगावाट विद्युत् उत्पादन गर्न ४६ खर्ब रुपियाँ लगानी आवश्यक हुने भएकाले यसमा राष्ट्र बैङ्कको समेत सहयोग आवश्यक पर्ने उहाँको भनाइ थियो ।