• ३१ वैशाख २०८१, सोमबार

संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई पक्राउ

blog

अविनाश चौधरी

धनगढी, माघ ४ गते । प्रहरीले संरक्षित वन्यजन्तु सालकको खपटासहित कैलालीमा आज दुई जनालाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय सुखडबाट खटेको प्रहरी टोलीले सालकको ११ किलो १०० ग्राम खपटासहित उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भजनी नगरपालिका–८ का ३५ वर्षीय परशुनारायण चौधरी र जोशीपुर गाउँपालिका –४ का ३२ वर्षीय प्रेम चौधरी रहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बर्दगोरिया गाउँपालिका –६ मुडाबाट उनीहरूलाई पक्राउ गरिएको छ । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो । 

उहाँका अनुसार गोप्य सूचनाको आधारमा भजनीतर्फ आइरहेको बेलामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले सालकलाई नेपालमा संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । सालक मार्ने र यस प्रजातिको कुनै पनि अङ्गको बिक्री वितरण गर्ने कार्यलाई ऐनले रोक लगाएको छ ।

त्यसो गरेको पाइएमा कानुनी कारबाहीको व्यवस्था रहेको छ । कैलालीसहित मुलुकको विभिन्न जिल्लामा पाइने सालक दुर्लभ वन्यजन्तु मानिन्छ ।