• २० असार २०८१, बिहिबार

आदिवासी रङ्गशाला निर्माण अगाडि बढाउन प्रयास

blog

रङ्गशाला निर्माण अघि बढाउन आवश्यक परामर्श र छलफलमा गाउँपालिका अध्यक्ष हुकुमसिंह राईलगायत । तस्बिर : गोरखापत्र

विष्णुप्रसाद पोखरेल

दमक, माघ ४ गते । १५ वर्षअघि निर्माण सुरु गरिएको झापाको कमल गाउँपालिका वडा नं. १ पाडाजुंगीस्थित आदिवासी रङ्गशाला निर्माणको कामलाई फेरी गति दिनका लागि प्रयास सुरु भएको छ । तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारीले वि.स.२०६७ सालमा शिलान्यास गरेको  रङ्गशालाको निर्माणको काम सुरुवाती चरणमा नै रहेको छ ।

रङ्गशालाको नामको विषयमा बारम्बार रूपमा विवाद हुँदा निर्माणको काम पनि प्रभावित भएको हो । आदिवासी रङ्गशालालाई अन्तर्राष्ट्रिय मदन भण्डारी रङ्गशालाको रूपमा निर्माण गरिने बत्ताइएपछि विवाद बढेको थियो । सुरुका वर्षमा घेराबारा र सम्म्याउने काम भएपनि त्यसपछि काम अघि बढ्न सकेको छैन । एक दशक अघिदेखि निर्माणको काम अलपत्र परेको स्थानीयहरू बत्ताउँछन् ।

आदिवासी जनजातिको ७४५ समाधि उत्खनन् गरेर सोही स्थानमा आदिवासी रङ्गशाला बनाइने प्रस्ताव गरिएको थियो । अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बनाउन पुग्ने २३ बिघाभन्दा बढी जमिन रङ्गशालालाई छुट्ट्याएको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताउनु भएको छ । आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठान झापाका अध्यक्ष पनि राई नै रहनुभएको छ ।

आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठान झापाका कार्यवाहक अध्यक्ष दिपेनवाला राईका अनुसार अहिलेसम्म रङ्गशाला निर्माणका लागि विभिन्न वर्षहरूमा तीन करोड खर्च भइसकेको जनाइएको छ । सङ्घीय सरकारले यस आर्थिक वर्षमा आदिवासी रङ्गशालाका नाममा बजेट विनियोजन गरेको छ ।

नामको विषयमा समेत विवाद मिलेको छ । दमकमा मदन भण्डारी रङ्गशाला बनाउन प्रक्रिया सुरु गरिएसँगै यो विवाद साम्य बन्दै गएको हो । प्रदेश सभा निर्वाचनमा समेत यसलाई स्थानीय उम्मेदवारले आफ्नो मुख्य ऐजेण्डा बनाउँदै आदिवासी रङ्गशाला नै बनाउने बताएका थिए ।