• ४ जेठ २०८१, शुक्रबार

प्रधानमन्त्री कप क्रिकेट : एपिएफलाई मधेशको धक्का

blog

रन लिएपछि मधेशका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, माघ ४ गते । विभागीय टोली नेपाल एपिएफ क्लबलाई प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशको नमिठो धक्का लागेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार भएको खेलमा एपिएफ मधेश प्रदेशसँग पाँच विकेटले पराजित भयो । मधेशले प्रधानमन्त्री कपमा पहिलो पटक एपिएफलाई हराउन सकेको हो । मधेशको जितमा रुपेश सिंहले अलराउन्डर प्रदर्शन गर्नुभयो । जितको लागि दुई सय ४७ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको मधेशले ४८ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।

मधेशको जितमा रुपेशले अविजित ७२ रन बनाउनुभयो । पवन सरार्फले ६४, नीरज यादवले ५२, अनिल कुमार शाहले २९ र अविशेक तिवारीले १३ रन बनाउनुभयो । बलिङमा एपिएफका रमेश कुर्मी र रोहित पौडेलले दुई दुई विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ४६ रन बनाएको थियो । एपिएफका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५९ बनाउनुभयो । कप्तान रोहित पौडेलले ५८, अमर राउटेलाले ४९ र सन्दीप जोराले २० रन बनाउनुभयो । बलिङमा मधेशका स्पिनर प्रदीप पासवान र रुपेश सिंहले तीन तीन विकेट लिनुभयो । रञ्जित कुमारले दुई तथा अर्निको यादवले एक विकेट लिनुभयो । 

यस्तै सिद्धार्थ रङ्गशाला भैरहवामा बिहीबार नै भएको अर्को खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई एक सय आठ रनले हराएको छ । सुदूरपश्चिमको यो लगातार तेस्रो जित हो । जितको लागि दुई सय दुई रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको गण्डकी ३०.२ ओभरमा सबै विकेटको क्षतिमा ९३ रनमा समेटिएको थियो । 

गण्डकीका आश्विानी रानाले सर्वाधिक २५ रन बनाउनुभयो । कमल परियारले २२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङमा सुदूरपश्चिमका शेर मल्लले पाँच विकेट लिनुभयो। गजेन्द्र बोहराले दुई तथा भोजराज भट्ट, नरेन साउद र मिलन बोहराले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा दुई सय एक रन बनाएको थियो । सुदूरपश्चिमका लागि किरण ठगुन्नाले सर्वाधिक ६० रन बनाउनुभयो । नारायण जोशीले ४६, शेर मल्लले १९, राजु रिजालले १६, टेक रावतले १५ र नरेन साउदले १३ रन बनाउनुभयो । बलिङमा गण्डकीका विपिन खत्री र अङ्कित सुवेदीले तीन तीन विकेट लिनुभयो । कमल परियार र अमृत गुरुङले दुई दुई विकेट झार्नुभयो ।