• २० असार २०८१, बिहिबार

आर्थिक विकास कार्यक्रममा छ स्थानीय तह छनौट

blog

फाइल तस्बिर

रमेश विश्वकर्मा 

गुल्मी, माघ ४ गते । नव प्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि गुल्मीका छ स्थानीय तह छनौट भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (स्रोत परिचालन समन्वय शाखा) का अनुसार जिल्लाका छ स्थानीय तहसहित सात प्रदेशकै १०४ स्थानीय तह छनौट भएका हुन् ।

नव प्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बमोजिम चालू आर्थिक वर्ष २०८०–८१ को कार्यक्रम सञ्चालनका लागि गत पुस ५ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (स्रोत परिचालन समन्वय शाखा) बाट आवेदन सूचना प्रकाशन गरिएको मन्त्रालयको स्रोत परिचालन समन्वय शाखाका शाखा अधिकृत नमराज सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आवेदन दिएका २४२ स्थानीय तहमध्ये कार्यविधिमा तोकिएको मापदण्ड पूरा गरेका १०४ स्थानीय तहलाई छनौट गरिएको सूचनामा प्रकाशित गरिएको छ । सो कार्यक्रमका लागि लुम्बिनी प्रदेशमा छनौट भएका १५ स्थानीय तहमध्ये छ स्थानीय तह गुल्मी जिल्लाको रहेका प्रकाशित सूचनामा उल्लेख छ ।

यस जिल्लाको रेसुङ्गा नगरपालिका, धुर्कोट गाउँपालिका, छत्रकोट गाउँपालिका, मालिका गाउँपालिका, चन्द्रकोट गाउँपालिका र इस्मा गाउँपालिका नव प्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि छनौट भएका सूचनामा उल्लेख छ । कोशी प्रदेशका २०, मधेश प्रदेशका १७, बागमती प्रदेशका १७, गण्डकी प्रदेशका १२, कर्णाली प्रदेशका ११, सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तह यस कार्यक्रमका लागि छनौट भएका छन् ।  

नव प्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम लागत साझेदारीमा हुने कार्यविधिमा उल्लेख छ । महानगर, उपमहानगरपालिको हकमा एक करोड रुपियाँसम्मको कार्यक्रमका लागि ३० प्रतिशत, नगरपालिकाको हकमा एक करोड रुपियाँसम्मको कार्यक्रमका लागि २५ प्रतिशत लागत स्थानीय तहले गर्नुपर्ने छ । 

त्यस्तै, गाउँपालिकाको हकमा ७५ लाख रुपियाँसम्मका लागि १५ प्रतिशत लागत स्वयम् स्थानीय तहले नै गर्नुपर्ने छ । कार्यक्रममा सहभागी हुन स्थानीय तहले कार्यपालिकाको निर्णयको प्रतिलिपि र कार्यक्रमको लागत साझेदारी प्रतिबद्धता समेत आवेदनमा समावेश गरेका थिए ।