• २० असार २०८१, बिहिबार

संस्कृति संरक्षण गर्न सङ्ग्रहालय निर्माण

blog

देवचुली –१० पृथ्वीनगरमा निर्माण गरिएको मगर सङ्ग्रहालय ।

मीना कंडेल

कावासोती, माघ ४ गते । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१० मा मगर सङ्ग्रहालय स्थापनाका लागि भवन निर्माण गरिएको छ । आधुनिकताले मगर पहिचान गुम्न थालेपछि मौलिक कला संस्कृति जोगाउन सङ्ग्रहालय निर्माण गरिएको हो ।

मगर संस्कृति संरक्षण र संवर्धन गर्ने उद्देश्यले देवचुली १० को पृथ्वीनगरमा मगर सङ्ग्रहालय निर्माण गरिएको छ । देवचुलीमा मगर समुदायको कला, संस्कृति, रहन, सहन र भेषभूषालाई संरक्षण गर्दै पुस्ता हस्तान्तरणका लागि समेत सङ्ग्रहालय स्थापना गर्न लागिएको मगर सङ्ग्रहालयका अध्यक्ष भुवनसिं आलेले बताउनुभयो । 

मगरले प्रयोग गर्ने भाँडावर्तन, लत्ताकपडा, बाजागाजा र जीविकासँग सम्बन्धित सामग्री राख्ने सो सङ्ग्रहालयमा अन्य समुदायलाई अवलोकनका लागि  व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

देवचुली नगरपालिकाले नगरस्तरीय वडा प्रवर्धनको कार्यक्रमअनुसार १० लाख, वडा  १० बाट पाँच लाख र स्थानीयवासीको सहयोगमा करिब २२ लाख रुपियाँको लागतमा मगर सङ्ग्रहालयको निर्माण गरिएको वडा १० का वडाध्यक्ष रेप्तीकुमार घर्तीले बताउनुभयो । 

संस्कृति पर्यटन प्रवर्धनका लागि समेत मगर सङ्ग्रहालय सहयोगी हुने भएकाले यसको थप विकास र प्रवर्धनमा राज्यले लगानी गर्नुपर्ने उहाँले बताउनुभयो । मगर समुदायको मौलिकता जोगाइराखे देवचुलीको पर्यटन विकासमा समेत टेवा पुग्ने हुनाले संस्कृति संरक्षणका लागि निर्माण गरिएको सङ्ग्रहालयका लागि नगरपालिकाले सहयोग गरेको नगरप्रमुख हरि न्यौपानेले बताउनुभयो । 

नगरपालिकाले दश लाख विनियोजन गरेको नगरप्रमुख न्यौपानेले बताउनुभयो । सङ्ग्रहालयका लागि स्थानीय समुदायमा भएका मगर सभ्यता झल्काउने सामग्रीहरू सङ्कलन गरिएको र आगामी फागुन १५ गते समुद्घाटन गर्ने तयारी गरिएको मगर सङ्ग्रहालयका सचिव गनबहादुर रानाले बताउनुभयो ।