• २० असार २०८१, बिहिबार

पेस्की फर्छ्यौटका लागि राखेपको कडाइ

blog

सदस्य सचिव टङ्कलाल घिसिङलाई प्रतिवेदन बुझाइँदै ।

काठमाडौँ, माघ ४ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पेस्की तथा बेरुजु फर्छ्यौटका लागि कडा नीति अख्तियार गर्ने भएको छ । राखेपले गठन गरेको पेस्की तथा बेरुजु फर्छ्यौट कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्ने राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले बताउनुभयो ।

कार्यदलले प्रतिवेदन बुझाउँदै पेस्की बाँकी रहेको संस्थाहरूलाई अनुदान रोक्नका लागि सुझाव पनि दिएको छ । यस्तै वैदेशिक यात्रा तथा सहभागिताका लागि सिफारिस समेत गर्न नहुने सुझावमा उल्लेख गरिएको राखेपका सदस्य एवं कार्यदलका संयोजक प्रकाशकुमार कुसारीले बताउनुभयो ।

विभिन्न राष्ट्रिय सङ्घहरूका नाममा निकै ठुलो अङ्कमा पेस्की रहेको भन्दै कार्यदलले फछ्यौट नगर्ने सङ्घ, कर्मचारी तथा पदाधिकारीलाई कारबाहीको दायरामा ल्याउनु अनिवार्य हुने उल्लेख गरिएको छ । यस्तै आर्थिक प्रशासन शाखाले पनि बेरुजु कम गराउनेतर्फ कर्मचारीहरूलाई आर्थिक कारोबार सम्बन्धी प्रशिक्षणको व्यवस्था गर्न समेत सुझाव दिएको कार्यदलका सचिव कुमार बस्नेतले बताउनुभयो ।