ठाकुरप्रसाद आचार्य
म्याग्दी, माघ ४ गते । जिल्ला प्रशासन कार्यालय म्याग्दीले राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भर्ने व्यवस्थालाई सहज बनाएको छ । सेवाग्राहीले राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भर्न झन्झटिलो भएको र बाहिर बजारमा फाराम भर्दा शुल्क तिर्नुपरेको जस्ता गुनासो आएपछि प्रशासनले निःशुल्क रुपमा अनलाइन फाराम भरिदिने व्यवस्था मिलाएको हो ।
बिहीबारदेखि सुरु गरिएको सेवामार्फत् अनलाइन फाराम भर्ने पहिलो सेवाग्राही बेनी नगरपालिका ३ गौश्वराकी सपना केसीलाई प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले खादा लगाएर स्वागत गर्नुभएको थियो । कार्यालयबाट नै सेवा सुरु भएपछि अबदेखि सेवाग्राहीले बाहिर शुल्क तिरेर अनलाइन फाराम भर्नुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, "प्रशासनबाट नै राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम भर्ने व्यवस्था मिलाएका छौं । यसअघि आफैं वा पसलमा शुल्क तिरेर फाराम भर्नुपर्ने बाध्यतालाई हटाइदिएका छौं ।" राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम कार्यालय परिसरभित्रै निःशुल्क भर्नका लागि कर्मचारीलाई जिम्मेवारी दिइएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।
उहाँले भन्नुभयो, "सेवाग्राहीले आफ्नो प्रमाण लिएर कार्यालयमा पुगेमा सम्बन्धित फाँटबाटै निःशुल्क फाराम भर्ने व्यवस्था मिलाइएको छ । जसबाट सेवाग्राहीले अनलाइन फारम भर्न बाहिर बजारमा जानुपर्दैन ।" जिल्ला प्रशासन कार्यालयभित्रै अनलाइन फाराम भर्ने व्यवस्था गरेकोमा पहिलो सेवाग्राही केसीले खुसी व्यक्त गर्नुभयो ।