• १३ साउन २०८१, आइतबार

देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गर्छौँ : उपप्रधानमन्त्री श्रेष्ठ

blog

स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) को २४ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्नुहुँदै उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ । तस्बिर : गोरखापत्र

काठमाडौं, माघ ४ गते । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवालाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने प्रतिबद्धता जनाउनुभएको छ । बिहीबार स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) को २४ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।

उहाँले देशलाई कुनै पनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा नराख्ने बताउनुभयो । उहाँले विदेश गएका युवाहरूलाई स्वदेशमै फर्काउन नयाँ ढङ्गबाट काम गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।


उपप्रधानमन्त्री श्रेष्ठले उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने दिशामा सरकार अघि बढिरहेको जानकारी दिनुभयो । उहाँले विकासको प्रक्रियालाई नयाँ र तीव्रतासहित अहिले सरकारले काम गरिरहेको बताउनुभयो । सुशासन प्रभावकारी बनाउने र अर्थतन्त्र सक्रिय  बनाउने काममा सरकार लागिपरेको बताउनुभयो ।


‘‘अर्थतन्त्रलाई लयमा ल्याउने काममा त केही प्रगति गरेका छौँ । त्यसमा पनि अझै हामीले केही काम गर्न बाँकी छ । तर त्यसबाट सन्तुष्ट भएर बस्न सकिने स्थिति छैन । हामीले अर्थतन्त्रको गतिलाई तीव्र पार्नैपर्छ र विकासको फड्कोमा जानैपर्छ । एउटा कुरामा हाम्रो कमी भएको छ । यो देशलाई कुनै पनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा राख्दैनौँ । यो देशमा युवालाई बाहिर पठाएर वृद्धाश्रम बनाउने खतराबाट यो देशलाई मुक्त गरिछोड्छौँ ।,’’ उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘यो सङ्कल्प त्यसै पूरा हुँदैन भन्ने हामीलाई थाहा छ । नयाँ ढङ्गले काम गर्नुपर्छ । त्यस दिशातर्फ अघि बढ्ने क्रममा हामीले अहिले उत्पादन वृद्धि गर्ने, आयात प्रतिस्थापन गर्ने, निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने दिशामा जानुपर्छ भनेर लागेका छौँ । अहिलेको गतिलाई अझ बढाउनुपर्छ भन्नेमा दृढ छौँ ।’’


उपप्रधानमन्त्री श्रेष्ठले उत्पादन, रोजगारी बढाउने र व्यापार घाटा कम गर्ने दिशातिर देशलाई लैजानसके मात्रै युवाहरूलाई स्वदेशमै राख्न सकिने वस्तुगत आधार तयार हुने बताउनुभयो । उहाँले अब पनि बकबक गरेर बस्ने र ढिला गर्ने समय सरकारलाई नरहेको जिकिर गर्नुभयो । उहाँले सरकार, सरकारको संयन्त्र, निजी क्षेत्र मिलेर देशलाई कोल्टे फेर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘विकासको प्रक्रियालाई नयाँ तीव्रतासहित अहिले सुशासन प्रभावकारी बनाउने र  अत्यन्तै सक्रिय  अर्थतन्त्र  बनाउने हो । उत्पादन, रोजगारी बढाउने र व्यापारघाटा कम गर्ने दिशातिर लैजाने र त्यसले मात्रै हामीले विदेश जाने यो क्रमलाई रोक्ने वस्तुगत आधार तयार पार्छौँ । अब बकबक गर्ने समय हामीसँग छैन । अब ढिला गर्ने समय छैन । सबै मिलेर सरकार, सरकारको संयन्त्र, निजी क्षेत्र मिलेर देशलाई कोल्टे फेर्नैपर्छ ।’’


उपप्रधानमन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई फड्कोकारी रुपमा विकास गर्ने नीति सरकारले लिएको बताउनुभयो । उहाँले नेपालको आर्थिक विकास र समृद्धिको यात्रा तीव्र बना लगानी भित्र्याउनका लागि सरकारले सुरक्षामा कुनै कमी हुन नदिने बताउनुभयो । उहाँले निर्माण प्रक्रियालाई तीव्र बनाउन सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।