सिराज खान
नेपालगन्ज, माघ ४ गते । बर्दियाका सोनाहा जाति पुर्खौंदेखि कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा बालुवा चालेर सुन खोज्दै आएका छन् । तथापि उनीहरू नै बिहान बेलुकाको छाक टार्न समस्यामा छन् । नेपालभर करिब दुई हजार जनसङ्ख्या रहेको सोनाहा जातिले बालुवा चालेर सुन खोज्न छाडेको पनि छैन । माछा मारिरहे पनि जीवनस्तर उठ्न सकेको छैन ।
सोनाहा समाजका अध्यक्ष शान्ति सोनाहाका अनुसार सोनाहा जातिको पेसा पछिल्लो समय सङ्कटमा पर्दै गएको छ । उनीहरूलाई बिहान बेलुका छाक टार्नसमेत समस्या हुन थालेको छ ।
उहाँका अनुसार कर्णाली नदी र यसमा आधारित स्रोतहरू घट्नु र यी स्रोतमा अन्य समुदायको पकड तथा सरकारी संयन्त्रको नियन्त्रणले सोनाहाको पेसा सङ्कटमा परेको हो ।
अध्यक्ष सोनाहाले भन्नुभयो, “सोनाहा जातिको माछा मार्ने पेसा अन्य जातिले थालेपछि हामी पछि परेका छौँ ।” उहाँका अनुसार सोनाहा जातिले जाल खेलेरै माछा मार्दै आएका छन् । विद्युतीय धराप थापेर र विषादी प्रयोग गर्न हाम्रो धर्मले दिँदैन । त्यसैले हाम्रो पेसा सङ्कटमा परेको छ ।”
बालकृष्ण सोनाहाले माछा मार्ने पेसा मात्र होइन सोनाहाको सुन चाल्ने पेसा पनि सङ्कटमा परेको बताउनुभयो ।
उहाँका अनुसार बालुवा चालेर सुन खोज्ने र माछा मार्ने एवं डुङ्गा चलाउने परम्परागत पेसामा सामुदायिक वन र बर्दिया राष्ट्रिय निकुञ्जले रोक लगाएको छ । यसले गर्दा सदियौँदेखि चलिआएको पुख्र्यौली पेसा सङ्कटमा परेको हो ।
बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा करिब ७२९ जना सोनाहाको बसोबास रहेको छ । उनीहरूले मुख्य रूपमा माछा मार्ने र सुन चाल्ने पेसा गर्दै आएका छन् । सोनाहाका यी दुवै पुख्र्यौली पेसा सङ्कटमा परेपछि केही परिवारले वैकल्पिक पेसा अपनाएका छन् । केहीले गिट्टी, बालुवा चाल्ने काम गरिरहेका छन् । केहीले कपाल काट्ने पेसा सुरु गरेको बताइन्छ ।
गेरुवाका दुखाराम सोनाहाले पुख्र्यौली पेसाबाट गुजारा गर्न समस्या भएपछि कपाल काट्ने पेसा सुरु गरेको बताउनुभयो ।
उहाँले बाँच्नै मुस्किल भएपछि पुख्र्यौली पेसा भनेर बसिरहन नसकी कपाल काट्न थालेको बताउनुभयो ।
राज्यले सोनाहा जातिलाई लोपोन्मुखमा राखेको छैन । त्यसैले राज्यबाट पाउने सुविधाबाट वञ्चित हुनु परेको छ । यो जातिको बसोबास खासगरी कञ्चनपुर, कैलाली र बर्दियालगायत पश्चिम तराईमा छ । सोनाहाको उद्गम थलो चाहिँ बर्दियास्थित कर्णाली नदीको तल्लो तटीय क्षेत्र नै मानिन्छ । थारू समुदाय जस्तो देखिने भए पनि आफ्नै भाषा, संस्कृति, रहनसहन रहेका सोनाहा आफ्नो पहिचान जोगाउन सङ्घर्षरत छन् ।