• १३ साउन २०८१, आइतबार

ताप्लेजुङको उच्च भेगमा हिमपात

blog

पाथीभरा क्षेत्रमा परेको हिउँ । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको उच्च भेगमा हिमपात भएको छ । उच्च हिमाली भेगमा मङ्गलबार रातिदेखि नै हिमपात हुन थालेको हो । स्थानीयका अनुसार गएरातिदेखि सुरु भएको हिमपात अहिले पनि जारी छ ।

उच्च हिमाली भेगमा निकै बाक्लो हिमपात भएको छ भने हिमाली बस्तीहरू ओलाङ्चुङगोला, याङ्मा, घुन्सालगायतमा हिउँ परेको छ । ओलाङ्चुङगोलाकी स्थानीय दावाफुटी शेर्पाका अनुसार बस्तीसम्म नै हिउँ परेको छ । उहाँले ओलाङ्चुङगोलामा हिउँ पर्नेक्रम जारी रहेको बताउनुभयो ।

यस्तै, घुन्सा र फले बस्तीमा पनि सामान्य हिउँ परेको स्थानीयले बताएका छन् । उक्त बस्तीहरूमा अहिले पनि हिमपात भइरहेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार हिमपात हुन थालेपछि चिसो बढेको छ । हिमपातसँगै चिसो बढेकाले हिमाली भेगको जनजीवन प्रभावित बन्दै गएको ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ शेर्पाले बताउनुभयो । 

यता, प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा हिमपात भएको छ । माथिल्लो फेदीका स्थानीय होटल व्यवसायी राजेन्द्र महतका अनुसार मङ्गलबार रातिदेखि सुरु भएको हिउँ पर्नेक्रम अहिले पनि जारी रहेको छ । हिमपातसँगै चिसो ह्वात्तै बढेको उहाँले बताउनुभयो । 

उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि सदरमुकाम फुङ्लिङ बजारसहित जिल्लामा चिसो बढेको छ । चिसोका कारण बजारमा चहलपहल पनि पातलिएको स्थानीय विक्रम लिम्बूले बताउनुभयो । आज यहाँ फाट्टफुट्ट वर्षासमेत भएको छ ।