काठमाडौं, माघ ३ गते । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकपछि सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले सो जानकारी दिनुभयो ।
कार्कीको कार्यअवधि चार वर्षको हुने छ । अब कोषको निर्देशकको कार्यअवधि चार वर्ष कायम भएको छ । यसअघिका कार्यकारी निर्देशक रमन नेपालले पाँच वर्षको अवधि पूरा गरेपछि २०८० मंसिरदेखि पद रिक्त भएको थियो ।
कोषका उपनिर्देशक नारायण घिमिरेका अनुसार कोषमा साढे सात लाख बचतकर्ता आबद्ध छन् भने साढे दुई खर्ब रकम बचत जम्मा रहेको छ । यस कोषमा सरकारी तथा अन्य निकायका कर्मचारी बचतकर्ता रहेका छन् ।