• २१ असार २०८१, शुक्रबार

पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

blog

मनोनयनमा पर्न सफल करातेका विप्लवलाल श्रेष्ठ, शारीरिक सुगठनकी रजनी श्रेष्ठ र टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ । तस्बिर : विकास द्वारे ।

काठमाडौँ, माघ ३ गते । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७९ अन्तर्गत पिपल्स च्वाइस अवार्ड विधाको मनोनयन सार्वजनिक गरिएको छ । अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार एक कार्यक्रमबिच पाँच जना खेलाडी मनोनयन सार्वजनिक गरेको हो ।

२०औँ संस्करणमा पिपल्स च्वाइस अवार्डको मनोनयनमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा पर्नुभएको छ । खेल क्षेत्रमा पाएका सफलता र लोकप्रियताको आधारमा यस विधामा खेलाडीलाई मनोनयन गरिने गरिन्छ । मञ्चले यसअघि माघ १२ गते तय भएको अवार्ड कार्यक्रम प्राविधिक कारणले माघ २८ गतेका लागि सारिएको जानकारी पनि दिएको छ । 

पिपल्स च्वाइस  विधाको विजेता इसेवा भोटिङ, मञ्चका सदस्यको मत, सामाजिक सञ्जालबाट मत र ओलम्पिक कमिटीमा आबद्ध २७ खेल सङ्घका प्रमुख प्रशिक्षकको मतका आधारमा हुनेछ । जसमा ई–सेवाको मतभार ५० प्रतिशत, सामाजिक सञ्जालको मतभार २५ प्रतिशत, प्रमुख प्रशिक्षकको मतभार १२.५ प्रतिशत र मञ्चका सदस्यको मतभार १२.५ प्रतिशत रहनेछ । भोटिङ बुधबारबाट सुरु भई माघ २७ गतेसम्म खुला रहनेछ । 

भोटिङ पार्टनरका रूपमा मञ्चले विद्युतीय भुक्तानीका लागि चर्चित सेवाप्रदायक कम्पनी ई–सेवासँग बुधबार नै एक कार्यक्रमबिच सम्झौता गरेको छ । सम्झौता पत्रमा ईसेवाका चिफ बिजनेस अफिसर आशिष् गौतम र मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीले हस्ताक्षर गर्नुभयो । 

अवार्डको अन्य विधामा वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट युवा खेलाडी र पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेका छन् । 

यस पटक वर्ष पुरुष, वर्ष महिला, वर्ष प्रशिक्षक, वर्ष युवा र पिपल्स च्वाइस अवार्ड विजेताले पाँच वटा बजाज पल्सर मोटरसाइकल पाउनेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिने मञ्चले जनाएको छ ।