• १३ साउन २०८१, आइतबार

बाथरोग जागरण अभियान सञ्चालन

blog

बाथरोग जागरण अभियान कार्यक्रमको सुभारम्भ कार्यक्रममा अतिथिहरु ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ३ गते । बाथरोगसम्बन्धी जनचेतना जगाउने उद्देश्यले नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजको संयुक्त आयोजनामा एक महिनाभर ‘बाथरोग जागरण अभियान’ सञ्चालन हुने भएको छ । 

काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले बाथरोग अभियानको शुभारम्भ गर्नुभयो । रातोपुलस्थित नेशनल बाथरोग सेन्टरमा आयोजित कार्यक्रममा जागरण अभियानको उद्घाटन गर्दै उपमेयर डङ्गोलले नेपालमा अझै बाथरोगसम्बन्धी जनचेतना नभएको बताउनुभयो । 

अन्तिम समयमा मानिसलाई गाह्रो भएपछि मात्र अस्पताल आउनेगरेको भन्दै उहाँले बाथरोगसम्बन्धी जनचेतना भए यो रोगबाट बच्न सकिने बताउनुभयो । उहाँले महानगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै काठमाडौँ महानगरपालिका नेशनल बाथरोग सेन्टरजस्ता विभिन्न संस्थाहरूसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । 

बाथरोगका बारेको सामान्य ज्ञान समेत नभएका मानिसहरूमा समेत यसबारे चेतना फैलाउन सकेमा यसको रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने उहाँले बताउनुभयो । 

कार्यक्रममा नेशनल बाथ रोग सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले बाथरोग बारेमा सेन्टरले जनचेतनामूलक काम गर्दैआएको बताउनुभयो । उहाँले सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रले बाथरोगसम्बन्धी स्वास्थ्य शिविर तथा अन्य कार्यक्रम गर्दैआएको बताउनुभयो । 

संस्थाले गर्ने यस्ता जनचेतनामूलक कार्यक्रमले आगामी दिनमा बाथरोग सम्बन्धी सचेतना फैलाउन सहयोगी भूमिका निर्वाह गरोस् भन्ने आफ्नो अपेक्षा रहेको बताउनुभयो । 

नेशनल बाथ रोग सेन्टरका अध्यक्ष तथा वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनीत वैद्यले बाथरोग दीर्घरोग भएको भन्दै यसको समाधानमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले बाथरोगको समयमा नै पहिचान गर्न सकेमा न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो । सेन्टरले माघ महिनाभरि उपत्यकाका विभिन्न स्थानमा बाथ रोगसम्बन्धी सचेतना फैलाउने फोटो प्रदर्शनी गरिने बताउनुभयो । 

नशा रोग विशेषज्ञ डा. दीपेन्द्र शाक्यले बाथ शरीरको जुनसुकै अङ्गमा हुनसक्ने भएकाले ५० प्रतिशत बाथ रोगीलाई नशाको समस्या हुने बताउनुभयो । बाथलाई सुरुवाती अवस्थामा नै पहिचान तथा उपचार गर्न सकेमा नशासम्म बाथ रोग फैलिन नपाउने बताउनुभयो । 

वरिष्ठ बाथ रोग विशेषज्ञ डा. श्वेता नकर्मीले समयमै बाथको पहिचान गर्न यसका कारण हुने जटिलतालाई कम गर्न सकिने बताउनुभयो ।  बाथरोगबाट हुने जटिलतालाई कम गर्न बाथरोग जागरण अभियान आवश्यक रहेको उहाँको भनाइ छ ।